बाढीको छायामा नाडा अटो शो

काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हल झिलिमिली छ । बाहिर खासै भीड देखिँदैन, भित्र केही मानिसहरूको चहलपहल छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को १८औं संस्करण र स्थापनाको ५०औं वर्षगाँठ (स्वर्ण जयन्ती) का अवसरमा आयोजित यो मेला बाढीको छायामा परेकाे छ ।

अटो व्यवसायीहरूले यसपटकको नाडा अटो शोलाई निकै ठूलो तडकभडक र लगानीका साथ सुरु गरेका थिए । पाँच दशकको इतिहासलाई उत्सवका रूपमा मनाउने योजना थियो । मंगलबार मेलाको विधिवत उद्घाटन हुँदा व्यवसायीहरूमा बेग्लै उत्साह थियो । तर, त्यो उत्साह २४ घण्टा पनि टिक्न पाएन । बुधबार बिहानै विपत्तिले नेपालको अटोमोबाइल क्षेत्रलाई मात्र होइन, सिंगो देशलाई नै शोकमा डुबायो ।

बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नाडा अटो शोको रौनकलाई खल्लो बनाइदियो । बाढीले नाडाको रौनकमा मात्र धक्का दिएन, नेपालमा ईभी भित्रिने मुख्य मार्ग रसुवागढी नाका नै तहसनहस बनाइदियो । अटो व्यवसायीहरूका अनुसार रसुवागढी नाकामा रहेका करिब ८ सय वटा नयाँ गाडीहरू बाढीले बगाएको छ ।

स्टलमा बसेका एक व्यवसायी भावुक हुँदै भन्छन्, ‘भृकुटीमण्डपमा त गाडीको शो मात्र भइरहेको छ । हाम्रो ध्यान त उतै रसुवा र नुवाकोटतिर छ । देश रोइरहेको बेला हामी यहाँ मुस्कुराएर व्यापार गर्न सकिरहेका छैनौं ।’ 

व्यवसायीहरूका अनुसार कतिपय गाडीहरू बाढीले बगाएर कता पुर्यायो पत्तो छैन । कतिपय हिलोले पुरिएका छन् । यो क्षति अटोमोबाइल क्षेत्रका लागि अपूरणीय छ ।

नाडाका कोषाध्यक्ष पंकज अग्रवालका अनुसार मेलाको सुरुवाती दिनहरूमा उत्साहजनक सहभागिता थियो । पहिलो दिन ३० हजार र शनिबार ३५ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रह्यो । व्यापारिक दृष्टिले बुकिङ पनि राम्रो भयो । तर, देशमा परेको ठूलो विपत्तिका कारण आयोजकले मेलालाई उत्सवका रूपमा मनाउन सकेनन् ।

विपत्तिका कारण नाडाले मेलाका सबै प्रचारप्रसारका कार्यक्रमहरू बीचमै रोकेको थियो । ठूलो भौतिक संरचना तयार भइसकेकाले र करोडौंको लगानी भइसकेकाले मेला स्थगित गर्न सम्भव थिएन, तर समापन समारोहसमेत नगरेर नाडाले राष्ट्रिय शोकप्रति ऐक्यबद्धता जनायो । 

‘२०७२ को भूकम्पपछिकै यो सबैभन्दा ठूलो विपत्ति हो, यस्तो बेला हाम्रो मन यहाँ मेलामा हुनै सकेन,’ अग्रवालले थपे ।

विपत्तिका बाबजुद पनि उपभोक्ताहरूको ध्यान भने विद्युतीय गाडीले खिचेको देखियो । नाडा अटो शोमा सधैं झैं यसपटक पनि बीवाइडी सबैभन्दा बढी आकर्षणको केन्द्र बन्यो । 

बीवाइडीले एटो १, एटो २, एटो ३, सार्क सिक्स र सिलायन सेभेन जस्ता मोडलहरू प्रदर्शनमा राखेको थियो । कम्पनीका अनुसार यीमध्ये हालै सार्वजनिक भएको एटो २ लाई ग्राहकले सबैभन्दा बढी मन पराएका छन् । मेला अवधिभर बीवाइडीले ८ सय भन्दा बढी गाडीको बुकिङ लिन सफल भएको छ, जुन यो मन्दीको बजारमा उत्साहजनक उपलब्धि हो ।

त्यस्तै, टाटाको स्टलमा पनि ग्राहकको बाक्लो उपस्थिति रह्यो । टाटाले पन्च ईभी, नेक्सन ईभी, टियागो ईभी र नेपालमै पहिलोपटक सिएरा ईभी प्रदर्शनमा राखेको थियो । सिप्रदी ट्रेडिङका अनुसार पन्च ईभीको बुकिङ सोचेभन्दा बढी भएको छ । टाटाको नयाँ प्लेटफर्ममा बनेको पन्च ईभीले मध्यम वर्गीय परिवार र युवा पुस्तालाई निकै आकर्षित गरेको पाइएको छ ।

यस वर्षको अटो शोमा चिनियाँ ब्राण्डहरूको बाहुल्यता देखियो । नयाँ ब्राण्ड चेरी ले ग्राहकको निकै ध्यान तान्यो । ओमोडा र जेकोमार्फत नेपाल भित्रिएको यो ब्राण्डका नाडा अटो शोमा ५ सय ५० भन्दा बढी गाडीहरू बुकिङ भइसकेका छन् । आधुनिक फिचर र आकर्षक डिजाइनका कारण चेरीले नेपाली सडकमा आफ्नो बलियो उपस्थिति देखाउने संकेत गरेको छ ।

त्यस्तै, एमएडब्लु वृद्धि मोटर्सले ल्याएको दिपल ब्राण्डमा पनि ग्राहकको घुइँचो थियो । दिपलको नेभो क्यु जिरो फाइभ र दिपल एस०५ मोडललाई अवलोकनकर्ताले निकै चासोका साथ हेरेका थिए । नामी ब्राण्डको नामी बक्स इ२ मा पनि ग्राहकको उत्तिकै रुचि देखियो । स्कोडा, सुजुकी, लिपमोटर, जीडब्लुएम, प्रोटोन इमास र स्काईवेल लगायतका ब्राण्डका स्टलहरूमा पनि ग्राहकको सक्रिय सहभागिताले नेपाली बजार बिस्तारै ईभीमय बन्दै गएको पुष्टि गर्छ ।

मेलामा गाडीको बुकिङ राम्रो भए पनि व्यवसायीहरूका अगाडि अब अर्को ठूलो चुनौती खडा भएको छ । गाडीको डेलिभरी । देशभरका प्रमुख राजमार्गहरू बाढी र पहिरोले क्षतिग्रस्त भएका छन् । रसुवागढी नाका ठप्प छ । चीनबाट आउन ठिक्क परेका र नाकामा आइपुगेका सयौं गाडीहरू उतै रोकिएका छन् ।

व्यवसायीहरूका अनुसार ग्राहकलाई गाडी हस्तान्तरण गर्न अहिलेको सडक पूर्वाधार बाधक बनेको छ । एकातिर गाडीको अभाव र अर्कोतिर सडकको दुरावस्थाले गर्दा बुकिङ भएका गाडीहरू समयमै पुर्याउन कठिन हुने देखिएको छ । 

यदि बाढी नआएको भए नाडा अटो शो २०२६ एउटा ऐतिहासिक संस्करण बन्न सक्ने आयाेजकले जनाएकाे छ । ५०औं वर्षगाँठको उत्साह, नयाँ प्रविधिको आगमन र ईभीप्रतिको बढ्दो आकर्षणले अटो बजारमा नयाँ आशा जगाएको तर बाढीले यसपटककाे नाडा अटाे शाेलाई खल्लो बनाइदिएकाे आयाेजककाे भनाइ छ । 

Share News