बाजेको सेकुवाको आम्दानी साढे ४५ करोड, विदेशसहित २६ शाखा विस्तार

काठमाडौं । बाजेको सेकुवा लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ४५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४.६० प्रतिशत अर्थात् ५ करोड ८० लाख रुपैयाँ बढी हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

आफ्नै स्वामित्वमा सञ्चालित शाखाबाट भएको कारोबार, साझेदारीमा आधारित शाखा सञ्जालको विस्तार तथा साझेदार शाखाबाट प्राप्त शुल्क आम्दानीमा भएको वृद्धिले कम्पनीको समग्र आम्दानी बढेको जनाएको छ । स्थापित ब्रान्ड पहिचान, भौगोलिक क्षेत्रमा बढ्दो पहुँच तथा नेपालमा व्यवस्थित भोजनालयप्रतिको बढ्दो आकर्षणले पनि आम्दानी वृद्धिमा सहयोग गरेको कम्पनीको भनाइ छ । 

यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ३३ करोड ७० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । पछिल्ला वर्षमा कम्पनीको आम्दानी निरन्तर बढ्दै गएको देखिन्छ ।

सन् २००९ नोभेम्बरमा स्थापना भएको बाजेको सेकुवाले विभिन्न स्वाद र रुचिलाई लक्षित गर्दै दुई सयभन्दा बढी परिकार उपलब्ध गराउँदै आएको छ । परम्परागत नेपाली सेकुवा परिकार बिक्री गर्ने एउटा भोजनालयबाट सुरु भएको कम्पनी संस्थापक परिवारको मार्गदर्शनमा विस्तार हुँदै देशकै परिचित रेस्टुरेन्ट शृंखलामध्ये एक बनेको छ ।

बाजेको सेकुवा सञ्चालक समितिको अध्यक्षमा चेतनाथ भण्डारी रहेका छन् । उनले बाजेको सेकुवाको नेतृत्वसँगै सवारीसाधन, खुद्रा व्यापार, सूचना प्रविधि तथा घरजग्गालगायत विभिन्न क्षेत्रमा रहेका व्यवसायको समेत अध्यक्षता गर्दै आएका छन् । कम्पनीकी प्रबन्ध निर्देशक नितिमा भण्डारी रहेकी छिन् । उनी बैष्णो इन्टरप्राइजेज प्रालि, अमेरिकास्थित बाजेको सेकुवा एलएलसी तथा चेनी क्यापिटल प्रालिलगायत विभिन्न व्यावसायिक संस्थाकी संस्थापक तथा सञ्चालकसमेत हुन् ।

हाल बाजेको सेकुवाका कुल २६ वटा शाखा सञ्चालनमा रहेका छन् । तीमध्ये २० वटा शाखा साझेदारीमा आधारित सञ्चालन प्रणालीअन्तर्गत छन् भने ६ वटा शाखा कम्पनीको आफ्नै स्वामित्वमा सञ्चालन भइरहेका छन् । यसअनुसार कुल शाखामध्ये करिब ७७ प्रतिशत साझेदारीमा र २३ प्रतिशत कम्पनीको प्रत्यक्ष स्वामित्वमा रहेका छन् ।

विदेशमा सञ्चालनमा रहेका सबै ६ वटा शाखा साझेदारी प्रणालीमार्फत सञ्चालन भइरहेका छन् । कम पुँजीमा तीव्र रूपमा नयाँ बजारमा विस्तार गर्न साझेदारी प्रणालीलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ । साथै, रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा आफ्नै स्वामित्वका शाखा सञ्चालन गरी बजारमा बलियो उपस्थिति कायम गर्ने नीति कम्पनीले लिएको छ ।

खाद्य व्यवसायको प्रकृतिका कारण कम्पनीले ताजा मासु, मसला तथा छिट्टै बिग्रन सक्ने अन्य खाद्य सामग्रीको पर्याप्त मौज्दात राख्नुपर्ने हुन्छ । खानाको गुणस्तर र परिकारको स्वादमा एकरूपता कायम गर्न कम्पनीले सामान्यतः एकदेखि दुई महिनासम्मको खाद्य सामग्री मौज्दात राख्ने गरेको छ । गत आर्थिक वर्षमा कम्पनीको मौज्दात राख्ने अवधि ४० दिन रहेको थियो भने अघिल्लो आर्थिक वर्षमा यस्तो अवधि ३६ दिन थियो । कम्पनीले अधिकांश कच्चा पदार्थ विभिन्न आपूर्तिकर्ता तथा वितरकमार्फत खरिद गर्दै आएको छ । त्यस्ता आपूर्तिकर्ताबाट सामान्यतः एकदेखि दुई महिनासम्मको उधारो सुविधा प्राप्त गर्ने गरेको छ ।

कम्पनीको खुद सञ्चालन चक्र गत आर्थिक वर्षमा १७ दिन रहेको थियो । अघिल्लो आर्थिक वर्षमा यस्तो चक्र २ दिन मात्र रहेको थियो । शाखा सञ्जाल विस्तार हुँदै जाँदा आपूर्ति व्यवस्थापन, केन्द्रीकृत खाद्य प्रशोधन तथा वितरण सुविधामा थप लगानी आवश्यक पर्ने भएकाले आगामी दिनमा चालु पुँजीको आवश्यकता बढ्न सक्ने देखिएको छ ।

बढ्दो प्रतिस्पर्धा चुनौती

बाजेको सेकुवा नेपालमा अत्यधिक प्रतिस्पर्धात्मक तथा धेरै साना व्यवसाय रहेको रेस्टुरेन्ट क्षेत्रमा सञ्चालन हुँदै आएको छ । पछिल्ला वर्षमा बहुराष्ट्रिय छिटो सेवा दिने रेस्टुरेन्ट तथा स्थानीय रेस्टुरेन्ट शृंखलाको विस्तारसँगै प्रतिस्पर्धा थप तीव्र बनेको छ । केएफसी, पिज्जा हट तथा डोमिनोजजस्ता बहुराष्ट्रिय रेस्टुरेन्टका साथै बर्गर हाउस, चिकेन स्टेसनलगायत स्थानीय रेस्टुरेन्ट शृंखलाको विस्तारले बजारमा प्रतिस्पर्धात्मक दबाब बढाएको छ । यस्ता व्यवसायसँग पर्याप्त वित्तीय स्रोत, व्यवस्थित आपूर्ति प्रणाली तथा प्रभावकारी प्रचारप्रसारको क्षमता रहेकाले उनीहरूले छोटो समयमा बजार हिस्सा विस्तार गर्न सक्ने अवस्था रहेको जनाएको छ । त्यस्तै, साना भोजनालय, स्थानीय खाजा पसल तथा सडकमा खाना बिक्री गर्ने व्यवसायले समेत कम मूल्यमा परिकार उपलब्ध गराउँदै आएका छन् । यसले मूल्यप्रति संवेदनशील ग्राहकलाई आकर्षित गर्ने भएकाले बाजेको सेकुवामाथि थप प्रतिस्पर्धात्मक दबाब परेको छ ।

बहुराष्ट्रिय तथा संगठित रेस्टुरेन्ट शृंखलासँगै साना तथा असंगठित भोजन व्यवसायबाट समेत प्रतिस्पर्धा बढेकाले कम्पनीको मूल्य निर्धारण क्षमतामा केही सीमा देखिएको छ । विशेषगरी कच्चा पदार्थ तथा अन्य सञ्चालन सामग्रीको मूल्य बढ्दा त्यसको सम्पूर्ण भार तत्काल ग्राहकमा सार्न नसक्दा कम्पनीको नाफामा दबाब पर्न सक्ने जोखिम रहेको छ ।

कच्चा पदार्थको मूल्यमा हुने उतारचढावसँगै ब्याजदरमा हुने परिवर्तन पनि कम्पनीका लागि चुनौतीका रूपमा रहेको छ । कम्पनीको ऋणको ब्याजदर परिवर्तनशील प्रकृतिको रहेकाले बैंक तथा वित्तीय संस्थाको आधार ब्याजदर बढ्दा कम्पनीको ब्याज खर्चसमेत बढ्न सक्छ । यसले आगामी दिनमा कम्पनीको नाफा तथा तरलतामा दबाब सिर्जना गर्न सक्ने देखिन्छ ।

Share News