माछापुच्छ्रे बैंकमा प्रवेश गर्याे कर्मचारी सञ्चय कोष, किन्यो १ अर्ब २१ करोडको सेयर
काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको छ । बैंकका सबैभन्दा ठूला सेयरधनी सुरेन्द्र महतोले बिक्रीमा राखेको संस्थापक सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार माछापुच्छ्रे बैंकको संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ । नेप्सेका अनुसार बैंकको १ करोड ७ लाख ३७ हजार कित्ता सेयर ११ पटक खरिदबिक्री हुँदा १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । उक्त सेयर प्रतिकित्ता ११३ रुपैयाँका दरले खरिदबिक्री भएको नेप्सेले जनाएको छ । बैंकका कम्पनी सचिव शुभाष जमरकट्टेलका अनुसार संस्थापक सेयरधनी महतोले बिक्रीमा राखेको सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो । महतोले आफ्नो स्वामित्वको १०.९५ प्रतिशत अर्थात् १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा राखेका थिए । उक्त सेयरमध्ये कर्मचारी सञ्चय कोषले १ करोड ७ लाख ३७ हजार कित्ता सेयर मात्रै खरिद गरेको उनले बताए । कर्मचारी सञ्चय कोषले विभिन्न बैंकमा अर्बौ रुपैयाँ लगानी गरेको छ । यसअघि कोषले हिमालयन बैंक, नेपाल एबविआई बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक लगायतमा ठूलो लगानी गरिसकेको छ ।
१ अर्ब ४० करोड रकम फिर्ता माग्दै सूर्यदर्शन सहकारीका बचतकर्ता संसदमा
काठमाडौं । पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता माग राख्दै पीडितहरू संसदमा पुगेका छन् । यस्ताे माग राख्दै पीडित समूहले विहीबार राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने प्रवन्ध मिलाइदिन भन्दै बिहीबार सूर्यदर्शन बचत पीडित संघर्ष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा समक्ष निवेदन दिएका हुन् । उक्त सहकारीले १८ हजार ७०० बचतकर्ताको लगभग १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने भएपनि विगत २ वर्ष यता कसैले पनि फिर्ता पाउन नसकेको पीडितहरुले बताएका छन् । रकम फिर्ता नपाएपछि कानूनी प्रक्रियामा गएको ८ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जिबि राई) पक्राउ पर्न नसकेका भन्दै उनीहरुले राईलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन् । सहकारीको पैसा गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा तिसौँ करोड रुपैयाँ लगानी भएको देखिएपनि यस विषयमा आर्थिक, नैतिक र व्यवहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरु मौन बनेको भन्दै उनीहरुले आफूहरुले न्याय पाउनुपर्ने बताएका छन् । पीडितहरुले १९ जनालाई किटानी जाहेरी दिएको भएपनि हालसम्म १४ जना पक्राउ पर्न नसकेका बताए । त्यस्तै, २०८० साल माघ २२ गते पुरक जाहेरीमार्फत हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा तत्कालिन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रवन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी गरिएको भएपनि छानविन नभएको बताइएको छ । लामिछानेको सूर्य दर्शन सहकारीमा खाता नं. १०३९०००६६७५७ रहेको पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । पीडितहरुको निवेदन बुझ्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राज्यले पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताए । उनले सकारले पीडितको पक्षमा न्याय गर्ने विश्वास पनि व्यक्त गरे । उनले गृहमन्त्री रवि लामिछानेले कुनै समय सहकारी पीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको भन्दै आफैँ सरकारमा भएको बेलामा समस्या समाधान गरिदिए राम्रो हुने बताए । उनले भने- ‘तपाईहरुले प्रधानमन्त्रीलाई पनि भेट्नुभएको छ । पीडितहरुको समस्या समाधान गर्नुपर्छ । मैले सुनेको थिएँ, वर्तमान गृहमन्त्रीले पनि केही पहिला राज्यले नै भएपनि पीडितहरुको समस्या समाधान गर्छौं भनेर काहीँ बोलेको सुनेको थिएँ । राज्यको संयन्त्रमा उहाँ हुनुहुन्छ, त्यसरी समाधान गरिदिनुभयो भने राम्रो भयो । हामीले पनि सरकारलाई आग्रह गर्नुपर्छ । हामीलाई विश्वास छ, जुनसुकै सरकार भएपनि पीडितको पक्षमा न्याय गर्छ भन्ने विश्वास लिएका छौँ । यि कुराहरु समाधान गर्न सरकारले लागोस् ।’ सभापति खतिवडाले सो निवेदन उपर उपयुक्त समयमा समितिमा छलफल गराएर समस्या समाधानका लागि पहल गर्न सरकारलाई आग्रह गरिने पनि बताए । [pdf id=471126]
नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्ष बने मल्ल, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा ब्यवसायी संघको बुधबार सम्पन्न आठौं बार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको हो । सभाले आगामी दुई वर्षको लागी नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । जसमा प्रभु इन्स्योरेन्सका सञ्चालक राजेन्द्र मल्ल सर्वसम्मतले अध्यक्षमा निर्वाचित भएका छन् । मल्ल नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत हुन् । यस्तै, कार्यसमितिको उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रमेश कुमार निरौला निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति समिति सदस्यमा युनाइटेड अजोड़ इन्स्योरेन्सका आजाद श्रेष्ठ, सिद्दार्थ प्रिमियर इन्स्योरेन्सका पवन अग्रवाल र सानिमा जनरल इन्स्योरेन्सका कुनाल क्याल निर्वाचित भएका छन् ।