बीमा क्षेत्रको निर्वस्त्रपन
गत साता नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई १८ बुँदे निर्देशन जारी गरेको छ । बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूको न्यूनतम भौतिक पूर्वाधार बनाउनु पर्ने पहिलो निर्देशन छ । कर्मचारीहरूका लागि टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, दराज, बैठक कक्ष, सेवाग्राही कक्ष तथा कार्यालयको समग्र व्यवस्थापनको काम दुई महिनाभित्र गर्न भनिएको छ । यति गर्दा पनि कम्पनीको खर्च बढ्ने भएकाले प्राधिकरणको निर्देशन पालना गर्न महँगो र कठिन हुने बीमकको प्रारम्भिक प्रक्रियाका समाचार बनेका छन् । ‘कर्मचारीहरूका लागि टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, दराज, बैठक कक्ष, सेवाग्राही कक्ष’ नियामकले निर्देशन जारी गर्नु पर्ने र बीमकले यति गर्न पनि कठिन हुने बताउनुले बीमा क्षेत्रको औकात देखिएको छ । यस क्षेत्र ज्यादै नै कमजोर भएको पुष्टि गरेको छ । खुला र प्रस्तिपर्धात्मक बजारमा सेवा प्रदायकले यत्तिका पूर्वाधारलाई आधारभूत मान्नु पर्ने थियो । कर्मचारीको लागि एसीयुक्त वातावरण अनुकूलित कार्यकक्ष, ग्राहकका लागि रुचीअनुसार चियाकफी पिउन पाउने सुविधा, ठूलो स्क्रीनको टिभी, वाईफाईसहितको प्रतिक्षालय, अलि बढी समय बस्नु पर्ने ग्राहकलाई स्वास्थ्यलाभ हुने थेरापीयुक्त सोफा/कुर्सी समयको माग हो, बजारमा भएको अभ्यास र विकास हो । विदेशमा होइन, नेपालमा नै कर्पोरेट क्षेत्रमा ग्राहक कर्मचारीको लागि यस्तो सुविधा पाइन्छ । अर्ब लगानी भएको बैंक वा ठूला कर्पोरेट अफिसमा मात्र होइन, करोडमा चुक्ता पुँजी भएका कलेज, अस्पताल, सूचना प्रविधि लगायत सेवा प्रदायक कम्पनीहरूमा यस्तो सुविधा पाइन्छ । पुर्नबीमा कम्पनीको लागि २० अर्ब, जीवन बीमाको लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि साढे दुई अर्ब रुपैयाँ न्यूनतम पुँजी तोकिएका बीमा कम्पनीहरुले अहिले पनि कर्मचारीलाई बस्ने कुर्सी राख, ग्राहक सेवाको लागि सेवा कक्ष राख, शाखा कार्यालयमा कम्यूटर र प्रिन्टर राख भनेर निर्देशन दिनु नियामक आफैको लज्जाको विषय हो भने त्यति पनि गर्न सकिँदैन भनेर बीमकले भन्छन् भने यो त निर्वस्त्रपन भयो । अर्को व्यवस्था नभएसम्म प्रदेश कार्यालयमा ५ जना, शाखामा ४ जना र उपशाखा २ जना कर्मचारी अनिवार्य रहनुपर्ने प्राधिकरणले भनेको छ । बीमकका शाखा कार्यालयहरूमा अनिवार्य रूपमा अधिकृत स्तरका कर्मचारी कार्यालय प्रमुख हुनुपर्ने भनिएको छ । यति कर्मचारी पनि नराख्दा पनि हुने प्रदेश कार्यालय, शाखा र उपशाखा खोल्न बीमा प्राधिकरणले स्वीकृति कसरी दिएको थियो ? उल्लेखित जनशक्ति विना ती संस्थाहरूले कसरी सेवा प्रदान गर्दै आएका थिए ? भन्ने अर्को महत्वपूर्ण प्रश्न रहेको छ । बीमाशुल्क दाखिला पश्चात बीमालेख जारी गर्न, चेकमार्फत बीमाशुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि रक्षावरण हुने गरी जानकारी गराउन निर्देशनमा भनेको छ । यी सबै पुराना कुरा हुन् । मात्र कार्यान्वयनको अभाव देखियो । मातहतका कार्यालयलाई प्रशासनिक, आर्थिक, दाबी भुक्तानीलगायतका क्षेत्रमा अधिकार प्रत्यायोजन गर्न प्राधिकरणले भनेको छ । कृषि तथा पशुपन्छी बीमामा ५० हजारसम्म एवं मोटर र सम्पत्ति बीमामा २ लाखसम्मको दाबी भुक्तानीलाई प्रदेश एवं शाखा कार्यालयबाट समेत फर्छ्यौट गर्ने गरी अधिकार प्रत्यायोजन गर्न भनिएको छ । यस्तो काम बीमा कम्पनी आफैले गर्नुपर्ने हो । प्राधिकरणले निर्देशन दिएको छ । यसको कार्यान्वयनले बीमा कम्पनीमा कार्यरत कर्मचारीको क्षमता विकास, अधिकार विकेन्द्रीकरण र सेवास्तर सुधारमा मद्दत नै गर्नेछ । प्राधिकरणले बीमकहरूको स्थलगत निरीक्षणमा भेटिएका कैफियतका आधारमा जारी गरिएका १८ बुँदे निर्देशन पालना गर्दा नै कम्पनीहरू सबल बन्ने देखिन्छ । यसले बीमकको सेवास्तरमा पनि सुधार ल्याउने छ ।
महुली लघुवित्तको वार्षिक साधारण सभा चैत २६ मा, यस्ता छन् प्रस्ताव
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाकाे ११औं वार्षिक साधारण सभा चैत २६ गते बस्ने भएको छ । फागुन ३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय महुली सप्तरीमा गर्ने निर्णय गरेको छ । सभा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । यसअघिनै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ । सभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण प्रस्तुत हुनेछन् । सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/०८१ को लागी लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
शिखर इन्स्योरेन्सको १९ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय थापाथली स्थिति आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तथा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । संचालक समितिका अध्यक्ष गौरव अग्रवालको सभापतित्वमा सम्पन्न साधारणसभालाई अध्यक्ष अग्रवालले नेपालमा अहिलेसम्म शिखर इन्स्योरेन्स धेरै सूचकाङ्कहरुमा अग्रणी स्थानमा रहेको उल्लेख गरेका छन् । उनले सभालाई संबोभन गर्दै आगामी दिनहरूमा कम्पनीको बीमा व्यवसाय तथा लगानीको थप विस्तार गर्दै बीमा जोखिम तथा अन्य जोखिमको उचित व्यवस्थापन सहित कम्पनीको खुद नाफालाई समेत वृद्धि गर्दै लाने योजना रहेको बताए । साधारणसभामा उपस्थित सेयरधनीहरुबाट कम्पनीलाई अमूल्य सुझाव प्राप्त भएको छ । अध्यक्ष अग्रवालले सेयरधनीहरुको समर्थन, सहयोग र विश्वासलाई धन्यवाद ज्ञापन गरे । यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले शिखर इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारण साधारणसभामा उपस्थित आदरणीय सेयरधनीहरू, संचालक समिति, कर्मचारी मित्रहरू तथा आमन्त्रितहरूमा हार्दिक अभिवादन व्यक्त गरे । सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव उपर छलफल गरि पारित गरेको छ । कम्पनीको स्वतन्त्र संचालकको नियुक्ति बारेमा बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी गरीएको छ । कम्पनीको मिति २०७६ श्रावण २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित संचालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारण सभासम्मको लागि पदावधि थप गर्ने तथा गौरव अग्रवाललाई संचालक नियुक्त गर्ने बारे संचालक समितिको निर्णयलाई अनुमोदन गरीएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम संस्थापक समुह ‘क’ का सेयरधनीबाट निर्वाचित हुने ३ ९तीन० संचालक तथा सर्वसाधारण समुह ‘ख’ का सेयरधनीबाट निर्वाचित हुने थप १ (एक) संचालकका लागि प्रचलित कानुनी व्यवस्था को अधिनमा रही शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक निर्वाचन सम्बन्धी निर्देशिका २०६३ बमोजिम निर्वाचन गर्ने प्रस्ताव समेत पारित भएको छ । स्थापनाको २० औं वर्षमा यात्रा गरिरहँदा देशभर बीमाको पहुँच अभिवृद्धि गर्नका लागि दुर्गम भेगमा समेत शाखा विस्तार गरी ४० प्रतिशत महिला कर्मचारी सहित ६४२ कर्मचारी मार्फत ११५ वटा शाखा कार्यालयबाट बीमा सेवा प्रदान गर्दै आएको सीइओ पाण्डेले बताए । देशको ६७ जिल्लाहरूमा शाखा विस्तार गरिसकेको र आगामी दिनमा अन्य बाँकी जिल्लाहरू तथा दुर्गम क्षेत्रहरूमा समेत थप शाखा कार्यालय, उपशाखा कार्यालय तथा एक्सटेन्सन काउण्टरको माध्यमबाट बीमा सेवाको विस्तार गर्ने योजना रहेको उनले बताए । कम्पनीले हरेक वर्ष नयाँ नयाँ बीमालेख मार्फत नेपालको बीमाको दायरालाई फराकिलो पार्दै आएको र उनले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने, कृषि तथा पशुपंक्षी बीमालाई देशव्यापी विस्तार गर्ने तथा देशको खाद्य आत्मनिर्भरताको मार्गमा योगदान पुर्याउने बताए । बीमाको सेवा मार्फत मात्र नभई पूर्वाधारको विकास मार्फत समेत राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो कुल लगानीको करिब ६ प्रतिशत लगानी गरी कृषि तथा पूर्वाधार क्षेत्रमा लगानीको शुभारम्भ गरेको बताए। पूर्वाधार क्षेत्रमा गरिएको लगानीले तत्काल प्रतिफल नदिएपनि ती लगानीहरूबाट आगामी वर्षहरूमा दीर्घकालीन रुपमा आकर्षक प्रतिफल प्राप्त हुनेमा प्रतिबद्धता व्यक्त गरेका थिए । कम्पनीले बीमा जोखिम तथा अन्य जोखिमहरूको उचित रुपमा व्यवस्थापनकै कारण नेपालमा इक्रा नेपालबाट ‘ए प्लस’ को रेटिङ प्राप्त गर्न सफल एक मात्र कम्पनीका रुपमा रहेको जानकारी गराएका थिए र आउँदा दिनहरूमा विकसित प्रविधिको उच्चतम् प्रयोग गरी बीमाको पहुँचलाई सरल, सहज तथा मितव्ययी गर्ने कम्पनीलाई देशको उत्कृष्ट तथा अग्रणी कम्पनी कायम राख्न निरन्तर कार्यरत रहने प्रतिवद्धता व्यक्त गरे ।