काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो ।
संस्थाको असोज २८ गते बुधबार बसेको सञ्चालक समितिको १२६औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाका अनुसार २०८३ असार मसान्तसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गरिनेछ । यससँगै आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि पेस गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि साधारणसभाको प्रयोजनका लागि वार्षिक वित्तीय विवरण प्रकाशन गरिने संस्थाले जनाएको छ । सञ्चालक समितिबाट स्वीकृत वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लागू हुनेछ ।
संस्थाको केन्द्रीय कार्यालय रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा रहेको छ।