लाभांश घोषणा गरेको मैलुङ खोलाको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले संस्थासँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । कम्पनीले सेयर कारोबार खुला भएको समयमा लाभांश घोषणा सम्बन्धी निर्णय गरेको भन्दै नेप्सेले कारबाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो । कम्पनीको चैत ७ गते दिउँसो साढे ३ बजे बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई २.२२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, कम्पनीले उक्त सूचना नेप्सेलाई चैत ८ गते बिहान ११ बजेर १७ मिनेट अर्थात नियमित कारोबारको समयमा जानकारी गराइएको बताइएको छ । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर कम्पनीले त्यसको विपरित अर्थात कारोबार खुला रहेको समयमा लाभांश सम्बन्धी जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरेको हो । साथै, यस विषयमा के भएको हो ? के कारणले समयमा नै जानकारी दिन नसकेको हो ? भन्दै यसमा नेप्सेले कम्पनीसँग यसको स्पष्टिकरण माग गरेको छ । जसको लागि तीन कार्यदिनको समय दिइएको छ ।
कामना सेवा विकास बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले बिहीबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ‘अर्गनाइजेसन अफ इकोनोमिक्स कर्पोरेसन एण्ड डेभलपमेन्ट’ को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गदैंछ । ग्लोबल मनी विक २०२४ अन्तर्गत कामना सेवा विकास बैंकले अमलटारी, पोखरामा इको टुरिजम कृषि समुह तथा इको टुरिजम युथ क्लबको सहर्कायमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा क्लबका अध्यक्ष तथा क्लबका ४० जना भन्दा बढी सदस्यहरुको सहभागीतामा बैंकका कवासोती शाखा प्रमुख हरि प्रसाद साप्कोटा तथा डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले प्रस्तुतिकरण गरेका थिए । बैंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले उक्त कार्यक्रम गरिएको थियो । बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरुको भनाई रहेको थियो । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।
सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा छुट पाउने
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक र भारत, गुँडगाँव स्थित मेदान्त-द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ । गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन् । यस किसिमको सहकार्यबाट हालसम्म यस बैंकका ग्राहकहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्ष देखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।