१७ हजार ५०० घर र ५ हजार नागरिकको बीमा गर्दै मधेश सरकार

काठमाडौं । प्राकृतिक विपद्बाट घरआवासमा हुने क्षतिको जोखिम न्यूनीकरण तथा नागरिकको जीवन रक्षा र सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले मधेश प्रदेश सरकारले घरआवास सुरक्षा बीमा र दुर्घटना बीमा कार्यक्रम अघि बढाएको छ । यसअन्तर्गत प्रदेशका कम्तीमा १७ हजार ५०० घरआवासको प्राकृतिक विपद् जोखिमविरुद्ध बीमा र ५ हजार नागरिकको दुर्घटना बीमा गरिनेछ ।

मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले कार्यक्रम सञ्चालनका लागि इच्छुक बीमा कम्पनीसँग प्रस्ताव माग गरेको छ । मन्त्रालयले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रस्ताव पेस गर्न कम्पनीहरूलाई आह्वान गरेको हो ।

प्राकृतिक विपद् र दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिमबाट नागरिकलाई संरक्षण गर्ने उद्देश्यले अघि बढाइएको यस कार्यक्रमबाट विपद् प्रभावित परिवार तथा दुर्घटनामा परेका नागरिकलाई आर्थिक राहत उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

प्रस्ताव पेस गर्ने बीमा कम्पनीले घरआवास सुरक्षा बीमा र दुर्घटना बीमाको प्रक्रिया, बीमाशुल्क, बीमाबापत प्रदान गरिने रकम तथा लाभग्राहीले प्राप्त गर्ने सुविधासम्बन्धी विस्तृत विवरण खुलाउनुपर्नेछ । बीमा रकम र अन्य व्यवस्था मन्त्रालयले तोकेका सर्त तथा स्वीकृत कार्यविधिअनुसार हुनेछ ।

बीमा कार्यक्रमअन्तर्गत क्षति भएका घरधुरी तथा लाभान्वित व्यक्तिले पाउनुपर्ने रकम यथाशीघ्र र सहज रूपमा उपलब्ध गराउनुपर्ने सर्त मन्त्रालयले राखेको छ । बीमा कम्पनीले उक्त रकम विद्युतीय रकम स्थानान्तरण प्रणाली (ईएफटी) मार्फत लाभग्राहीको खातामा उपलब्ध गराउनुपर्नेछ ।

मन्त्रालयका अनुसार कार्यक्रमअन्तर्गत समेटिने घरधुरी तथा नागरिकको विवरण र अन्य सर्तहरू ‘प्रदेशका नागरिकहरूको जीवन रक्षा र सामाजिक सुरक्षाका लागि प्राकृतिक विपद् जोखिमविरुद्धको घरआवास बीमा तथा दुर्घटना बीमा कार्यविधि, २०८३’ बमोजिम हुनेछन् । 

Share News