एशियन लाईफकाे अध्यक्ष दिपक कुमार श्रेष्ठद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

काठमाडाैं । एशियन लाईफ इन्स्योरेन्सको संचालक समितिको नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहणको अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो । आइतबार बाराको सिमरामा सम्पन्न १२ औं साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागी संचालक समितिको सदस्य पदमा श्रेष्ठ निर्वाचित भएपछि कम्पनीको संचालक समितिको १६४ औं बैठकले उनलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो ।

एनएमबि हाइब्रिड र एनएमबि फिफ्टी योजनाको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । एनएमबि क्यापिटलले सञ्चालनमा ल्याएको दुई फण्डको प्रतिफल घोषणा भएको छ । योजना व्यवस्थापक रहेको क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टी नामक योजनाको लाभांश घोषणा गरेको हो । क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल १ योजनाको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट योजनाका ईकाईधनीलाई कर समेत २० प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ । त्यस्तै, क्यापिटलले एनएमबि फिफ्टीको नाफाबाट इकाईधनीलाई ३० प्रतिशत (कर सहित) प्रतिफल दिने प्रस्ताव गरेको छ । साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई क्यापिटलको सभाले पारित गरेपश्चात मात्रै सम्बन्धित योजनाका इकाईधनीले सो मात्राको प्रतिफल पाउने छन् । सो प्रयोजनको लागि क्यापिटलले भदौ १८ गते शुक्रबार एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

बोनस र हकप्रद पारित गर्न अपि पावरले डाक्यो साधारणसभा

काठमाडौं । अपि पावर कम्पनीले आगामी भदौ २५ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे भर्च्युअल माध्यम जुम मार्फत आफ्नो १८औं वार्षिक साधारण सभा गर्ने भएको हो । कम्पनीले प्रस्तावित बोनस र हकप्रद सेयर पारित गर्नको लागि उक्त सभाले आव्हान गरेको हो । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १०.५ प्रतिशतका दरले बोनस सेयर दिने विशेष प्रस्ताव गरेको छ । त्यस्तै, उक्त बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको ३९.३६ प्रतिशत अर्थात १ बराबर ०.३९३६ का दरले हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावलाई सभाले स्वीकृति दिने भएको छ । प्रस्तावित हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गर्ने जानकारी गराएको छ । साथै, सभाले उक्त आवको नाफाबाट सेयरधनीलाई कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने छ । १०.५ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ कायम हुने छ । त्यसको ३९.३६ प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ नाघ्ने छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीको भदौ १८ गतेदेखि भदौ २४ गतेसम्म बुक क्लोज हुने छ । यससँगै भदौ १७ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित बोनस र हकप्रद सेयर पाउने छन् ।