सिटी एक्सप्रेसको आम्दानी ५६ करोड, बजार हिस्सा १४ प्रतिशत

कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा निरन्तर घट्दै

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिको कुल सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२/८३ मा १.०५ प्रतिशतले घटेको छ । कम्पनीले उक्त अवधिमा ५६ करोड १० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल सञ्चालन आम्दानी ५६ करोड ७० लाख रुपैयाँ थियो ।

कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा निरन्तर घट्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६६ करोड ४० लाख रुपैयाँ, आव २०७९/८० मा ७६ करोड ८० लाख रुपैयाँ र आव २०७८/७९ मा ८२ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।

आम्दानीमा आएको गिरावटको प्रमुख कारण कमिसन आम्दानीमा परेको दबाब रहेको कम्पनीले जनाएको छ । विप्रेषण बजारमा बढ्दो प्रतिस्पर्धा, आन्तरिक विप्रेषणसम्बन्धी नियामकीय प्रतिबन्ध तथा नगद भुक्तानीको सट्टा रकम सिधै बैंक खातामा जम्मा गर्ने प्रवृत्ति बढ्दा कमिसन आम्दानी प्रभावित भएको कम्पनीको भनाइ छ । बैंक खातामा प्रत्यक्ष रकम जम्मा गर्दा सामान्यतः कमिसन आम्दानी कम हुने भएकाले त्यसको असर कुल सञ्चालन आम्दानीमा परेको हो ।

यद्यपि, विदेशी विनिमयबाट प्राप्त आम्दानीमा भएको वृद्धिले कुल सञ्चालन आम्दानीमा थप गिरावट आउन नदिएको कम्पनीले जनाएको छ । पछिल्लो समय विदेशी विनिमयबाट प्राप्त आम्दानी कम्पनीको प्रमुख आयस्रोतका रूपमा देखिएको छ । गत आर्थिक वर्षमा कुल आम्दानीमध्ये कमिसनबाट २६ प्रतिशत र विदेशी विनिमयबाट ७४ प्रतिशत आम्दानी भएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कम्पनीले विदेशबाट नेपालमा रकम भित्र्याउने विप्रेषण व्यवसाय सञ्चालन गर्दै आएको छ । सन् २००७ जुलाई ११ मा स्थापना भएको कम्पनी सिटी एक्सप्रेस ग्रुपअन्तर्गत सञ्चालित छ । कम्पनीको मुख्य कार्यालय काठमाडौंको कमलादीमा रहेको छ । सन् २०२६ जुलाईसम्म कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । कम्पनीमा डोलराज शर्मा, चन्द्र टण्डन, हेमबहादुर गुरुङ र महेश कुमार श्रेष्ठको समान २० प्रतिशत सेयर स्वामित्व छ । त्यस्तै, सुनील पाणी गौतमको १५.५० प्रतिशत र कृष्णराज पौडेलको ४.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष डोलराज शर्मा हुन् । रेमिट्यान्स, लगानी, ऊर्जा तथा अन्य क्षेत्रमा चार दशकभन्दा बढीको उद्यमशीलता र व्यावसायिक नेतृत्वको अनुभव भएका शर्माले सिटी एक्सप्रेस ग्रुपमा पनि विभिन्न वरिष्ठ नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । कम्पनीका प्रबन्ध सञ्चालक चन्द्र टण्डनसँग रेमिट्यान्स, बैंकिङ तथा वित्तीय प्रविधिको क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ । उनीसँग सिटिजन्स बैंक र नेपाल विद्युत् प्राधिकरणमा सञ्चालकका रूपमा काम गरेको अनुभव छ । कम्पनीको व्यवस्थापनको नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाष घिमिरेले गरिरहेका छन् । उनीसँग रेमिट्यान्स तथा वित्तीय सेवा क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ । विशेषगरी व्यावसायिक साझेदारी, जोखिम व्यवस्थापन, नियामकीय अनुपालन तथा अन्तर्राष्ट्रिय विप्रेषण कारोबारमा उनको अनुभव रहेको छ ।

सिटी एक्सप्रेसको देशभर २५ हजारभन्दा बढी एजेन्टको सञ्जाल छ । आन्तरिक विप्रेषण कारोबारका आधारमा कम्पनीको बजार हिस्सा १४ प्रतिशत रहेको छ । कम्पनीले वित्तीय सेवा क्षेत्रका अन्य व्यवसायमा समेत लगानी विस्तार गरेको छ । स्मार्ट च्वाइस टेक्नोलोजिज प्रालिमा ८ करोड ७२ लाख रुपैयाँ र सिटी वालेट प्रालिमा १० करोड रुपैयाँ लगानी रहेको छ ।

रेमिट्यान्स वृद्धिमा डिजिटलको सहयोग

वैदेशिक रोजगारीमा जाने नेपालीको निरन्तरता, डिजिटल भुक्तानी प्रणालीको विस्तार तथा औपचारिक विप्रेषण माध्यमको बढ्दो प्रयोगले नेपालको विप्रेषण उद्योगको वृद्धिमा सहयोग पुर्याउने कम्पनीले जनाएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन तथा घरपरिवारको आयमा विप्रेषणको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । विशेषगरी खाडी मुलुक, मलेसिया तथा अन्य उदीयमान गन्तव्यमा नेपाली श्रमिकको निरन्तर उपस्थितिले विप्रेषण प्रवाहलाई सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।

डिजिटल भुक्तानी प्रणाली र मोबाइल वालेटसँगको एकीकरणले विदेशबाट रकम पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउँदै लगेको छ । प्रविधिमा आधारित सेवाको विस्तारले विप्रेषण कारोबारलाई थप पहुँचयोग्य, सुविधाजनक र प्रभावकारी बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

त्यस्तै, नेपाल सरकारका अनुकूल नीतिगत पहल, नेपाल राष्ट्र बैंकका नियामकीय सुधार तथा विप्रेषण कारोबारलाई औपचारिक माध्यममा आबद्ध गर्ने प्रयासले यस क्षेत्रको स्थायित्व र वृद्धिमा योगदान पुर्याउन सक्ने कम्पनीको भनाइ छ । औपचारिक माध्यमको प्रयोग बढ्दा कारोबारको पारदर्शिता र नियामकीय अनुपालनमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

प्रतिस्पर्धा र नियामकीय जोखिम चुनौती

विप्रेषण बजारमा बढ्दो प्रतिस्पर्धा र नियामकीय जोखिम सिटी एक्सप्रेसका प्रमुख चुनौतीका रूपमा देखिएका छन् । बैंक, स्थापित विप्रेषण कम्पनी, डिजिटल भुक्तानी प्लेटफर्म तथा वित्तीय प्रविधिमा आधारित कम्पनीहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै जाँदा कम्पनीको कमिसन आम्दानी र नाफा मार्जिनमा दबाब परेको छ ।

प्रतिस्पर्धाका कारण कमिसन आम्दानीमा आएको कमीले कुल सञ्चालन आम्दानी घट्न योगदान पुर्याएको छ । आगामी दिनमा प्रतिस्पर्धा थप तीव्र भएमा कम्पनीको आम्दानी वृद्धि र नाफा मार्जिनमा थप दबाब पर्न सक्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंकका नियामकीय प्रावधान, आन्तरिक तथा अन्तर्राष्ट्रिय रकम स्थानान्तरणसम्बन्धी प्रतिबन्ध, वैदेशिक रोजगारीसम्बन्धी नीतिगत परिवर्तन र रकम पठाउने स्रोत मुलुकका अनुपालनसम्बन्धी व्यवस्थाले पनि कम्पनीको व्यवसायलाई प्रभावित गर्न सक्छन् । नियामकीय व्यवस्था परिवर्तन हुँदा त्यसअनुसार सेवा सञ्चालन र अनुपालनका लागि थप खर्च लाग्न सक्ने जोखिमसमेत रहन्छ ।

सिटी एक्सप्रेसको विप्रेषण व्यवसाय खाडी मुलुकबाट आउने रकममा तुलनात्मक रूपमा बढी निर्भर छ । नेपालमा विप्रेषण भित्रिने प्रमुख स्रोतका रूपमा रहेका ती मुलुकमा रोजगारीको अवस्था, आप्रवासन नीति, श्रम कानुन, आर्थिक गतिविधि वा भू-राजनीतिक परिस्थितिमा प्रतिकूल परिवर्तन आएमा नेपाली श्रमिकको रोजगारी र उनीहरूले पठाउने रकम प्रभावित हुन सक्छ । त्यसको असर कम्पनीको कारोबार र आम्दानीमा समेत पर्न सक्ने देखिन्छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ । बैंकिङ सुविधाका लागि गरिएको रेटङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई एटू प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको ऋणसम्बन्धी दायित्व पूरा गर्ने क्षमता सहज रहेको संकेत गर्छ ।

Share News