तीन निर्जीवन बीमा कम्पनीः जो भित्रिए अर्ब क्लबमा
काठमाडौं । बजारमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका तीन कम्पनी अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार तीनवटा निर्जीवन बीमा कम्पनी अर्ब क्लबमा छिरेका हुन् । सो वित्तीय विवरण अनुसार यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल), अजोड र एभरेष्ट इन्स्योरेन्सले एक अर्ब बढी कूल बीमाशुल्क आर्जन गरेका छन् । यसअघि उनीहरु करोड क्लबमा मात्रै रहेका थिए । जसमध्ये सबैभन्दा बढी प्रिमियम अजोड इन्स्योरेन्सले संकलन गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा ८८ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको कम्पनीले गत आवको सोही अवधिमा एक अर्ब ३० करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । जुन ४७.७३ प्रतिशतले बढी हो । त्यस्तै, यूनाईटेड इन्स्योरेन्सले पनि एक अर्ब ५ करोड रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५२.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष इन्स्योरेन्सले ६९ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको थियो । त्यसैगरी, अर्ब क्लबमा प्रवेश गर्न सफल भएको एभरेष्ट इन्स्योरेन्सले गत एक वर्षमा १ अर्ब १ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.९९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ९१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । १४.९३ प्रतिशतले बढ्यो निर्जीवन बीमा व्यवसाय समग्रमा एक वर्षको अवधिमा निर्जीवन बीमा व्यवसाय १४.९३ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेको २० कम्पनीमा ओरियन्टल इन्स्योरेन्सबाहेक बाँकी १९ वटा कम्पनीले औषतमा सो मात्राको वृद्धि हासिल गरेका हुन् । अघिल्लो वर्षमा कूल २६ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका उक्त कम्पनीहरुले गत आवमा कूल ३० अर्ब ४१ करोड रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । जसमध्ये सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । योभन्दा अघिल्लो वर्षमा पनि उच्च बीमाशुल्क संकलन गरेको कम्पनीले गत एक वर्षमा ३ अर्ब ९२ करोड रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११.३६ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, सगरमाथा, नेको, सिद्धार्थ र एनएलजी इन्स्योरेन्सले २ अर्ब बढी बीमाशुल्क आर्जन गरेर दुई अर्बको क्लबमा रहेका छन् । यसअघि एक अर्बको क्लबमा रहेको एनएलजी इन्स्योरेन्स यो पटक भने दुई अर्ब क्लबमा प्रवेश गर्न सफल भएको छ । १ अर्ब ७३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको कम्पनीले गत आवमा २ अर्ब ८ करोड रुपैयाँ प्रिमियम उठाएको छ । जुन एक वर्षको तुलनामा २०.२३ प्रतिशतले बढी हो । त्यस्तै, विभिन्न ११ वटा कम्पनीले एक अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । र, बाँकी तीन वटा कम्पनी भने करोडौंकै क्लबमा रहेका छन् । नेशनल, जनरल र सानिमा जनरल इन्स्योरेन्सले क्रमशः ७६ करोड, ६५ करोड र ६५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । उता ओरियन्टल इन्स्योरेन्सले भने हालसम्म गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको छैन ।
विद्युत नियमनको सूचनादेखि डराए हाइड्रोका लगानीकर्ता, अधिकांशको मूल्य घट्यो
काठमाडौं । विद्युत नियमन आयोगले सूचना जारी गरेसँगै हाइड्रोका लगानीकर्ता डराएका छन् । आयोगले विभिन्न १६ वटा बुँदा अध्ययन गरेर मात्रै हाइड्रोमा लगानी गुर्न भन्ने सूचना जारी गरेसँगै हाइड्रोका लगानीकर्ता डराएका बिहीबारको बजारमा छर्लङ्ग देखिएको छ । यससँगै बजारमा अधिकांश हाइड्रो कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबारसम्म दैनिक सकारात्मक सर्किट लाग्दै आएका कम्पनीमा आज भने नकारात्मक सर्किट लागेको छ । बिहीबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १०/१० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । जसमध्ये खानीखोलाको सेयर मूल्य यस साता शुरु भएदेखिनै निरन्तर पोजिटभ सर्किट लाग्दै आएको थियो । उसले प्रतिसेयर आम्दानी ७१ रुपैयाँ रहेको वित्तीय विवरण प्रकाशित गरेसँगै कम्पनीको सेयर मूल्यमा निरन्तर पोजेटिभ सर्किट लाग्दै आएको थियो । त्यस्तै, बजारमा बढी कारोबार गर्नेको अग्रस्थानमा पनि अधिकांश हाइड्रो कम्पनी नै रहेका छन् । बढी कारोबार गर्नेको ५ स्थानमा सबै हाइड्रो नै रहेका छन् । जसमध्ये अरुण काबेली पावर, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको क्रमशः एक अर्ब १६ करोड ७८ लाख र १ अर्ब १६ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको पनि ८३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा बुधबारको बजारमा कूल २२९ कम्पनीको २० अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन देखिएको छ । बुधबार दोहोरो अंकले बढेको बजार आज भने दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबारको सेयर कारोबार मापक नेप्से परिसूचक १८.१७ अंकले ओरालो लागेर ३१८०.८६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले कम हो । बजारमा इन्स्योरेन्स, माइक्रोफाइनानस, ट्रेडिङ्ग र अन्य समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् । के थियो नियमन आयोगको सूचनामा ?
हाथवे इन्भेष्टमेन्टले ५५ प्रतिशत लाभांश दिने, आईपीओ पनि जारी गर्ने
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सेयरधनीलाई ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र ३० प्रतिशत नगद गरी ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, कम्पनीले साधारण सेयर आईपीओ जारी गर्ने विशेष प्रस्ताव गरेको छ । कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नको लागि कम्पनीले भदौ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको १३औं वार्षिक साधारणसभा सो दिन दिउँसो २ बजे काठमाडौंको लैनचौरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल जुम मार्फत हुने छ ।