इसेवाद्वारा इश्वर मन्दिर विद्यालयलाई सामाग्री सहयाेग

काठमाडाैं । इसेवा मनि ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्वको अन्तरगत भोजपुरको इश्वर मन्दिर विद्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट ग्रुपका प्रमुख सञ्चालन अधिकृत (सिओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एण्ड सेक्यूरिटीका म्यानेजर प्रमेश केसीलाई दुईवटा एलइडी टेलिभिजन र ३० वटा कम्प्युटरमा लाग्ने हेडफोन हस्तान्तरण गरेका छन् । इसेवा मनि ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । हेल्थ सेफ्टीले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । हेल्थ सेफ्टीले विद्यालयहरूलाई ई–लर्निङ सेन्टरका रूपमा स्थापित गर्न विभिन्न सहयोग गर्दै आइरहेको छ । इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।  

कारोबार खुलेको दुई मिनेट नबित्दै अरुण काबेलीको सेयर मूल्यमा सर्किट, किन्नेको ओइरो

काठमाडौं । बुधबार नियमित कारोबार खुलेको दुई मिनेट नबित्दै अरुण काबेलीको सेयर मूल्यमा सर्किट लागेको छ । ११ बजेर २ मिनेट नबित्दै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबार कम्पनीको सेयर कारोबार प्रतिकित्ता ७४३.८० रुपैयाँमा खुलेको थियो । त्यसको केही अवधिमै सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८०२.२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ७२.९० रुपैयाँले बढी हो । मंगलबारको बजारमा कम्पनीको अन्तिम सेयर कारोबार प्रतिकित्ता ७२९.३० रुपैयाँमा भएको थियो । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर बेच्नेको भन्दा किन्नेको ओइरो लागेको छ । हालसम्म ११ लाख ८० हजार ७९१ कित्ता सेयर किन्नेको चाप देखिएको छ । कम्पनीले सेयरधनीलाई लाभांश र लाभांशपछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेसँगै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । बुधबार बिहान एक सूचना प्रकाशित गर्दै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, उक्त बोनस सेयरको लागि कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी, १७ प्रतिशत बोनस सेयर पछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने कम्पनीको विशेष प्रस्ताव रहेको छ । उक्त प्रस्तावलाई कम्पनीको साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा भदौ २६ गते बिहान ११ बजे जुम मार्फत बस्दै छ । सभामा जाने प्रयोजनको लागि आगामी भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५८ करोड रुपैयाँ रहेको छ । १७ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८५ करोड रुपैयाँ कायम हुने छ । त्यसपछि कायम हुने उक्त चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड रुपैयाँ पुग्ने छ ।  

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । सिबिआईएल क्यापिटलले सञ्चालनमा ल्याएको दुई फण्डको प्रतिफल घोषणा भएको छ । योजना व्यवस्थापक रहेको क्यापिटलले ‘सिटिजन्स म्युचुअल फण्ड १’ र ‘सिटिजन्स म्युचुअल फण्ड २’ नामक योजनाको लाभांश घोषणा गरेको हो । क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ योजनाको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट योजनाका ईकाईधनीलाई कर समेत ४० प्रतिशत अर्थात ३२ करोड ८० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड २को नाफाबाट पनि इकाईधनीलाई ४० प्रतिशत (कर सहित) अर्थात २२ करोड ४९ लाख रुपैयाँ बराबरको प्रतिफल दिने प्रस्ताव गरेको छ । भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई क्यापिटलको सभाले पारित गरेपश्चात मात्रै सम्बन्धित योजनाका इकाईधनीले सो मात्राको प्रतिफल पाउने छन् ।