मौद्रिक नीतिले हल्लायो सेयर बजार, दिनभर तीव्र उतारचढाव, हालसम्मकै उच्च कारोबार
काठमाडौं । आइतबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति पछिको पहिलो दिनको कारोबार मै बजारमा उच्च उतारचढाव देखिएको हो । दिनभरको कारोबारमा ८२.६२ अंकको उतारचढाव देखिएको छ । सो दिनको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक अधिकतम ३१८७.४८ र न्युनतम ३१०४.८६ बिन्दुसम्म झरेको थियो । नियमित समयमा कारोबार खुल्दा (११ बजे) नेप्से परिसूचक ३१७१.१ बिन्दुमा थियो । त्यसको तीन मिनेट नबित्दै परिसूचक घटेर ३१४० बिन्दुसम्म झर्यो । त्यसपछि ११ बजेर १६ मिनेट जाँदा परिसूचक बढेर ३१८७.४१ बिन्दुसम्म पुगेको थियो । जुन सो दिनको अधिकतम बिन्दु हो । तर त्यसपछिको बजारमा करिब डेढ घण्टाको अवधिमा बजार निरन्तर घटेर ३१०५ बिन्दुसम्म घट्यो । जुन सो दिनको नियमित समयको न्युनतम बिन्दु हो । त्यस्तै, त्यसपछिको बजारले पुनः उकालोको बाटो तय गरेको थियो । र, २ बजेर ३० मिनेट जाँदा परिसूचक ३१७४.२८ बिन्दुसम्म पुगेको थियो । बजारका लगानीकर्ता संगठनका प्रतिनिधिले अर्थमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएसँगै बजारमा केही करेक्सन आएको देखिन्छ । भेटमा अर्थमन्त्रीले बजारलाई प्रभाव पर्ने कुनै पनि काम हुन नदिने जस्तो आश्वासन दिएसँगै लगानीकर्तालाई केही राहत भएको महसुस गरेसँगै अन्त्यमा बजारले उकालोको बाटो तय गरेको देखिन्छ । अन्ततः आइतबारको सेयर बजार २४.५७ बिन्दुले घटेर ३१५४.३४ बिन्दुमा अडिएको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.७७ प्रतिशतले घटी हो । तीव्र उतारचढाव देखिएको बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । दिनभरको कारोबारमा २१ अर्ब ६४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जुन नेपाली पुँजीबजारको इतिहासमै पहिलो रेकर्ड हो । सो दिन २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको देखिन्छ । बजारमा तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने एक कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । जसमध्ये खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, आईसीएफसी फाइनान्स कम्पनीको सेयर मूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता १०२० रुपैयाँ पुगेको छ । आइतबार सबैभन्दा बढी एनआईबिएल प्रगति फण्डको मूल्य घटेको छ । जसको एकैदिन ८.५४ प्रतिशतले घटेर प्रतिइकाई १२.८५ रुपैयाँमा झरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने नयाँ व्यवस्था गरेको थियो । जसमा पुँजीबजारका लगानीकर्ताले आपत्ति जनाउँदै यसलाई हटाउन माग समेत गरिसकेका छन् ।
अपि पावरकाे कट अफ मूल्य निर्धारण
काठमाडाैं । अपि पावरकाे कट अफ मूल्य निर्धारण भएकाे छ । कम्पनीकाे लिलामी सेयरको कट अफ मूल्य ४८१ रुपैयाँ निर्धारण भएकाे हाे । कम्पनीले जेठ २० गते देखी असार १३ जारी गरेको १ः०२९३९ हकप्रद शेयरकाे लिलामीकाे कुल २ लाख १५ हजार ५९९ कित्ता शेयर बोलकबोल मार्फत बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेकाे थियाे । उक्त लिलामीकाे सेयरमा साउन १३ देखी २० सम्म बोलकबोल मार्फत कुल २४७३ निवेदन प्राप्त भएकाे थियाे ।
मिर्मिरे लघुवित्तले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने, कर नलाग्ने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस सेयर दिने प्रस्ताव गरेको हो । संस्थाले नगद लाभांश प्रस्ताव भने गरेको छैन । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा मर्जर तथा प्राप्तीको काम सम्पन्न गरी दुई संस्था प्राप्ती गरी एकीकृत कारोबार शुरु गरेकोले संस्थाले नगद लाभांश प्रस्ताव नगरेको जनाएको छ । यससँगै आयकर ऐन २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकाले कर प्रयोजनको लागि नगद लाभांश नछुट्याइएको संस्थाले जानकारी गराएको छ । संस्थाको बोनस प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले २० प्रतिशत बोनस सेयर पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी ४३ करोड ५० लाख रुपैयाँ रहेको छ । प्रस्तावित २० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५२ करोड २० लाख रुपैयाँ पुग्ने छ ।