१ अर्ब बढी पुँजी हुने लघुवित्तले उपत्यका भित्र पनि कर्पोरेट कार्यालय खोल्न पाउने

काठमाडौं । १ अर्ब बढी पुँजी हुने लघुवित्त वित्तीय संस्थाले उपत्यका भित्र पनि कर्पोरेट कार्यालय खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको लागि परिपत्र जारी गर्दै सो व्यवस्था गरेको हो । ‘इजाजतपत्रप्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाहरु गाभिएर वा प्राप्ति गरेर रु १ अर्बभन्दा बढी चुक्ता पूँजी कायम गरेमा वा रु १ अर्बभन्दा बढी चुक्ता पूँजी भएका संस्थाले एउटा राष्ट्रियस्तर वा २ वटा प्रदेश स्तरका संस्था गाभेमा वा प्राप्ति गरेमा काठमाडौं उपत्यका भित्र काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिका बाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न स्वीकृति प्रदान गरिने छ,’ परिपत्रमा भनिएको छ । यस्तै, कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा वार्षिक १.५० प्रतिशतसम्म सेवा शुल्क लिन सक्ने व्यवस्था पनि गरिएको छ । एक वर्षभन्दा कम अवधिको लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जाको लागि वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्ने उल्लेख गरिएको छ ।

मर्जरमा जाने लघुवित्तले खुद्रा कारोबार पनि गर्न पाउने

काठमाडौं । एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुने लघुवित्तहरुले खुद्रा कारोबारको अनुमति पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको लागि परिपत्र जारी गर्दै सो व्यवस्था गरेको हो । ‘थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्नेछन्,’ परिपत्रमा उल्लेख गरिएको छ ।

एनआईसी एशियाद्वारा बीमा सहितको निक्षेप सुविधाअन्तर्गत २० लाख बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ । जसअनुसार यस बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५, बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको छ । निजकी पत्नी रुकमती श्रेष्ठलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यूले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । साथै यस बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्वास–६, कञ्चनपुर निवासी रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकोमा उनकी पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको छ । निजलाई यस बैंकको पुनर्वास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । यस बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५५० जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको ३ करोड ५८ लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् । बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७२ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।