नेपाल लाइफले नेशनल मर्चेन्टको ५१ प्रतिशत सेयर किन्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । सो समझदारी पत्रमा नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले हस्ताक्षर गरेका हुन् । नेपाल लाइफले उक्त सेयर खरिद गरेपछि सो कम्पनीको जारी एवम् चुक्ता पुँजी ३० करोड रुपैयाँ हुनेछ । कार्यक्रममा दुबै कम्पनीका संचालक समितिका अध्यक्षहरु र सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरे । नेशनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नबिन बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलिया बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताए । नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाईले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा सवैको विश्वास जितेर उत्कृष्ठ ब्राण्ड रहन सफल भएको बताउँदै अब नेशनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पुँजी बजारमा सफल कम्पनीको रुपमा स्थापित गरिने बताए ।

श्री जन नमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौं । ज्योति विकास बैंकले वीरेन्द्रनगर सुर्खेतको श्री जन नमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी विद्यालयलाई एक लाख ५० हजार रूपैयाँ बराबरको आर्थिक सहयोग हो । खानेपानी धाराको जडान पश्चात सो विद्यालयका विद्यार्थीहरु, समुदायका मान्छेहरु र आवतजावत गर्ने बटुवाहरुले शुद्ध खानेपानीको लाभ लिन सक्नेछन् । विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक जिवन जोशी, जन नमूना माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद कोइराला, प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर वडा न. ६ सुर्खेतका वडा अध्यक्ष मोती प्रसाद कंडेलको उपस्थिति रहेको थियो । नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

बैंकहरुको कर्जाः सेयर धितोमा ११० प्रतिशतको वृद्धि, कुन क्षेत्रमा कति ऋण ?

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिकाे कर्जा उल्लेख्य रुपमा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७७/७८ मा मार्जिन प्रकृतिको कर्जा ११०.८ प्रतिशतले बढाएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले गत आवमा मार्जिन प्रकृति अर्थात सेयर खरिद गर्नका लागि कुल ५५ अर्ब ८७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षमा यस्तो किसिमको कर्जा ११ प्रतिशतले मात्रै बढेको थियो भने कुल ४ अर्ब ९९ करोड ३० लाख रुपैयाँ मात्रै कर्जा प्रवाह भएको थियो । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२ प्रतिशतले बढेको थियो । गत वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २७.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ३०.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.३ प्रतिशतलेघटेको छ । २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो । कुन क्षेत्रमा कति ऋण ? कृषिमा ४३.६ प्रतिशत बढ्यो बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षमा कृषि क्षेत्रतर्फको कर्जामा ४३.६ प्रतिशतको वृद्धि गरेका छन् । गत आवमा कृषि क्षेत्रमा ९८ अर्ब ४२ करोड ८० लाख कर्जा प्रवाह भएको छ । अघिल्लो वर्ष यो कर्जा १६.७ प्रतिशतले बढेको थियो भने कुल ३२ अर्ब ३१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । औद्योगिक उत्पादन औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जामा २०.६ वृद्धि देखिएको छ । गत आवमा बैंक तथा वित्तीय संस्थाहरुले आद्योगिक उत्पादन क्षेत्रमा कुल १ खर्ब ९ अर्ब ८७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्ष यस्तो कर्जा ११.५ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष आद्योगिक क्षेत्रमा कुल ५५ अर्ब १० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । निर्माण क्षेत्र गत आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुले निर्माण क्षेत्र तर्फको कर्जामा १८.४ प्रतिशतको वृद्धि गरेका छन् । सो अवधिमा बैंकहरुले निर्माण क्षेत्रमा कुल ६३ अर्ब ९० करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्ष यस्तो कर्जा १२.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष निर्माण क्षेत्रमा कुल ३८ अर्ब २० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जामा २०.४ वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षमा सो क्षेत्रमा कुल ४२ अर्ब ७० करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा अघिल्लो वर्ष १८.६ प्रतिशतले बढेको थियो भने कुल ३२ अर्ब ९३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । खुद्रा व्यापार क्षेत्र खुद्रा व्यापार क्षेत्रतर्फको कर्जामा पनि २६.२ प्रतिशतको वृद्धि देखिएको छ । यो क्षेत्रमा कुल १ खर्ब ७३ अर्ब ९१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तो कर्जा अघिल्लो वर्ष ७.७ प्रतिशतले बढेको थियो भने कुल ४७ अर्ब ३७ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । सेवा उद्योग क्षेत्रतर्फको कर्जा राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सेवा उद्योग क्षेत्रतर्फको कर्जामा २०.९ प्रतिशतको वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा कुल ६२ अर्ब ५८ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा अघिल्लो वर्ष २२.१ प्रतिशतले बढेको थियो भने कुल ५४ अर्ब २५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । हायर पर्चेज कर्जा घट्यो गत आर्थिक वर्षमा हायर पर्चेज कर्जा भने घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा हायर पर्चेज कर्जा ७.७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षमा हायर पर्चेज कर्जा कुल १३ अर्ब ३९ करोड १० लाख रुपैयाँ मात्रै प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो कर्जामा ३.८ प्रतिशतको गिरावट आएको थियो भने कुल ६ अर्ब ८९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।