सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराए

लहान  । सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको थियो । त्यस्ता हालसम्म ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । स्वास्थ्य बीमा बोर्ड लहानका दर्ता अधिकारी पशुपति नारायण चौधरीका अनुसार सिरहामा २८ हजार ९५७ पुरुष र २८ हजार २१६ महिला गरी कूल ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । कार्यालयमा बीमा दर्ताका लागि थप करिब १० हजार आवेदन आइसकेको र अब ती सबै आवेदन दर्ताको तयारी भइरहेको दर्ता अधिकारी चौधरीले जानकारी दिए । बीमा गराएकामध्ये हालसम्म सिरहामा करिब १२ हजार वीमितले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको जनाएको छ । यस्तै विगत एक वर्षदेखि लागू भएको सप्तरीमा २४ हजार १८५ जनाले बीमा गराएको छ । सप्तरीमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा बोर्ड लहान शाखाले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै वीमितको नाम दर्ताको कार्य गर्दै आएको छ । प्रत्येक वडामा एक/एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुका साथै बीमा गराउनेको नाम दर्ताको कार्य भइरहेको चौधरीले बताए । सहजकर्तामार्फत दर्ता भएको वीमितको नामलाई प्रत्येक तीन/तीन महिनामा कम्प्युटरमा दर्ता गर्ने गरिएको र अहिले नाम दर्ता हुने वीमितले बीमा सेवा पाउने गरेको दर्ता अधिकारी चौधरीको भनाइ छ । पाँच जनाको परिवारले वार्षिकरुपमा प्रतिपरिवारले तीन हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारबापत वार्षिक एक लाखसम्मको स्वास्थ्य उपचार गराउन पाइने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएका परिवारका थप प्रतिसदस्यले वार्षिक ७०० का दरले प्रिमियम तिर्नुपर्ने र सुविधा थैलीमा २० हजार थपिने जनाएको छ । रासस

लघुवित्तका सञ्चालकको आयोजनामा सिइओको सम्मेलन सम्पन्न

काठमाडाैं । लघुवित्त वित्तीय संस्थाका सञ्चालकको संस्था लघुवित्त सङ्घ नेपाल (एमफान) ले पहिलोपटक लघुवित्त बैंकका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । काठमाडौंमा भएको दुईदिने सम्मेलनले नौबुँदे प्रतिबद्धतापत्र समेत घोषणा गरेको सङ्घका अध्यक्ष जगत पोखरेलले जानकारी दिए । सम्मेलनमा सहभागी सिइओ र विज्ञ तथा सङ्घका पदाधिकारीका बीच भएको बृहत् छलफलपछि प्रतिबद्धतापत्र जारी गरिएको उनले बताए । प्रतिबद्धतापत्रमा शाखा कार्यालय विस्तार गर्दा सदस्य दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गर्ने, कर्मचारी नियुक्त गर्नु पूर्वअघिल्लो लघुवित्त संस्थाको राजीनामा स्वीकृति प्राप्त भएको पत्र लिने, कर्मचारीको दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, समय सान्दर्भिक सेवा सुविधा प्रदान गर्नेलगायतका विषय समेटिएका छन् । त्यसैगरी सूचना प्रविधिको अधिकतम प्रयोग गरी संस्थाको लागत कम गर्ने, ग्राहक सदस्यलाई पारदर्शीरुपमा कारोबारलाई जानकारी दिने प्रतिबद्धता पनि सिइओले गरेका छन् । उनीहरुले लघुवित्त बैंक र शाखाका बीचमा अस्वस्थ प्रतिस्पर्धा न्यूनीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । सम्मेलनमा देशभरका लघुवित्त वित्तीय संस्थाका करिब ४० सिइओको सहभागिता रहेको सङ्घका प्रमुख कार्यकारी अधिकृत रविन पोखरेलले जानकारी दिए । सहभागी प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिव तथा लघुवित्त विज्ञ डा मानबहादुर विक र लघुवित्त विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा भरतसिंह थापाले प्रशिक्षण दिएका थिए । त्यसैगरी माइक्रो फाइनान्सका अध्येता तथा पाडोभा विश्वविद्यालयका प्राध्यापक अर्लभटो लाजाभेचियाले जुममार्फत प्रशिक्षण दिएका थिए । रासस

लालीगुराँस बहुउद्देश्यीय सहकारीले खोल्यो भक्तपूरको सुर्यविनायकमा काउण्टर

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.६ पाण्डुबजारमा छैठौं सदस्य सुविधा काउण्टर संचालन गरेको छ । काउण्टरको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गरेका छन् । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न यस संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए । संस्थाको ललितपुर जिल्लाको चापागाँउ, काठमाण्डौं जिल्लाको चाबहिल, न्यूरोड, भक्तपुर जिल्लाको कौशलटार र चितवन जिल्लाको पर्सामा समेत सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयरसदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको बताएको छ । ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्येक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको संस्थाको भनाई छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा २०५६ साल भाद्र १८ गते दर्ता भई २०५६ साल आश्विन १५ गतेबाट कारोबार सुरु गरेको संस्था २२औं वर्षमा संचालित रहेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको मुख्य लगानीमा संचालित श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज प्रा.लि. तथा अन्य विद्यालय तथा कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । त्यसैगरी संस्थाको मुख्य लगानीमा संचालित लालीगुराँस हस्पिटल प्रालिले प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने गरेको छ । संस्थाले बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्र तर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्र तर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि.÷कलेज प्रा.लि. र नेशनल एकेडेमी, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ । साथै संस्थाबाट संचालित कार्यक्रमहरुलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी तुल्याउन आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा तालिमहरु प्रदान गर्दै आई रहेको छ । हाल छ (६) स्थानमा रहेको सदस्य सुविधा काउण्टरलाई बृद्धी गरी निकट भविष्यमा उपत्यक भित्र र बाहिर गरी थप ६ स्थानहरुमा थप सुविधा काउण्टरहरु संचालन गरी संस्थाले आफ्नो सेवाहरु विस्तार गर्ने जानकारी दिएको छ ।