इसेवा र कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । इसेवा मनी ट्रान्सफरले कतारको ख्यातीप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुमा गइ इसेवामनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् । अबदेखि कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्ज मार्फत इवामनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सक्नेछन् । यसैगरि, अलदार एक्सचेन्जमार्फत पठाएको रकम इसेवामनि ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिनेछ । साथै, अलदार एक्सचेन्जको एपबाट पनि चाँडैं इसेवामनी ट्रान्सफरको सेवा सुचारु हुने कम्पनीले जानकारी दिएको छ ।

नेप्से २३ अंकले बढ्दा कारोबार घट्यो, साहसको सेयर मूल्यमा निरन्तर सर्किट

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । शुरुवाती कारोबारमा घट्दो क्रममा रहेको बजार अन्त्यमा २३.७६ अंकले उकालो लागेको छ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार ०.८४ प्रतिशतले बढेर २८४३.६२ बिन्दुमा पुगेको छ । बजारमा परिसूचकमा सुधारदेखिए पनि कारोबार रकम भने घटेको छ । सो दिन २३० कम्पनीको ६ अर्ब ७ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ७० करोड रुपैयाँले घटी हो । सोमबारको बजारमा ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार भएका कम्पनीमध्ये महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ४६ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता ७३० रुपैयाँ पुगेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा कामना सेवा विकास बैंक रहेको छ । संस्थाको २२ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ  । बजारमा साहस उर्जाको सेयर सर्किट लेभलमा कारोबार भएको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि सर्किट लागेको कम्पनीको सेयर मूल्य आजपनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५३९.३० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४९ रुपैयाँले बढी हो । त्यस्तै, गुणविल फाइनान्स कम्पनीको सेयर मूल्य ९.१६ प्रतिशतले बढेर प्रतिकित्ता ८४४.९० रुपैयाँ पुगेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा राम्रो प्रगति गरेसँगै कम्पनीको सेयर मूल्य बढेको बुझिन्छ । मंगलबार सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य २.९५ प्रतिशतले घटेर प्रतिकित्ता ५ हजार ५९० रुपैयाँमा झरेको छ । मंगलबार बैंकिङ्ग, इन्भेष्टमेन्ट र ट्रेडिङ्ग समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् ।

नेको इन्स्योरेन्ससहित तीन लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कार्त्तिक १६ गते मंगलबार नेको इन्स्योरेन्ससहित ३ लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेको इन्स्योरेन्स, माहुली लघुवित्त, उन्नत्ति सहकार्य लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । यी चार कम्पनीको गरी कूल ३० लाख ७२ हजार ८३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये नेको इन्स्योरेन्सको १५.५० प्रतिशत अर्थात २० लाख ४२ हजार १९ कित्ता बोनस सेयर रहेको छ । त्यस्तै, माहुली लघुवित्तको ३ लाख ७३ हजार २४० कित्ता (२० प्रतिशत), उन्नत्ति सहकार्यको २ लाख ६६ हजार ३३० कित्ता (१७.८१ प्रतिशत) र जनउत्थान सामुदायिक लघुवित्तको ३ लाख ९१ हजार २४८ कित्ता (४९.४० प्रतिशत) बोनस सेयर सूचीकृत भएको हो ।