एनपीएसमा जोडिए २९ बैंक तथा वित्तीय संस्था (सूचीसहित)
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच (एनपीएस) को पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र २९ बैंक तथा वित्तीय संस्थाहरुबीच मंसिर २ गते सम्झौता भएको छ । एनसीएचएल तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा सम्झौता पत्र आदान प्रदान गरेका हुन् । नेपाल सरकारको बजेट तथा मौद्रिक नीतिमा समेत उल्लेख भए बमोजिम नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागि नेपाल क्लियरिङ्ग हाउसलाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृती प्रदान गरिएकोमा पहिलो चरण कार्यान्वयनका लागि भने अन्तिम स्वीकृति २०७८ कात्तिक महिनामा प्राप्त भएको हो । यसै क्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागी हालसम्म १८ वटा वाणिज्य बैकहरु, ५ वटा विकास बैंकहरु तथा ६ वटा फाइनान्स कम्पनीहरु गरी जम्मा २९ बैंक वित्तिय संस्थाहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्ड बाहेकका भुक्तानी प्रणालीबीच अन्तरआवद्धता कायम गर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरु प्रदान गरिने गरी पहिलो चरणका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेकोमा अब यस सम्झौतापश्चातयसको कार्यान्वयन अघि बढ्ने कम्पनीले जनाएको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल-क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट-टु-पे तथा इ-म्यान्डेटका उपकरणहरु, वालेट-वालेट बीचअन्तरआवद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआवद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुनेछन् । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन-रियल टाइम तथाओपन एपिआइकामार्फत बैंक वित्तिय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसैगरी दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपालपेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको कम्पनीले जनाएको छ । हालसम्म कुन कुन बैंक तथा वित्तीय संस्थाहरु जोडिए ?
ननलाइफ इन्स्योरेन्सले २ अर्बले बढाए बीमा कोषको आकार, जनरलको ९२% ले बढ्दा अन्यको कति ?
काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका निर्जीवन बीमा कम्पनी (ननलाइफ इन्स्योरेन्स) ले बीमा कोषको आकार बढाएका छन् । सञ्चालित २० कम्पनीमध्ये १८ वटा निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामै बीमा कोषको आकार बढाएर १३ अर्ब ९६ करोड रुपैयाँ पुर्याएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब ३१ करोड रुपैयाँ अर्थात १९.९० प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्ममा कम्पनीहरुको बीमा कोषको रकम ११ अर्ब ६४ करोड रुपैयाँ थियो । कम्पनीहरुले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीको बीमा कोषको आकार ठूलो छ । कम्पनीको उक्त कोषको आकार ८.१४ प्रतिशतले बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, एक अर्ब माथि बीमा कोष हुनेमा शिखरसहित ५ कम्पनी रहेका छन् । गत वर्ष अर्ब क्लबमा शिखर मात्रै थियो भने यो वर्ष थप ४ वटा कम्पनी रहेका छन् । नेको, सगरमाथा, एनएलजी र सिद्धार्थ इन्स्योरेन्सले यो वर्ष बीमा कोषको रकम बढाएर सजिलै अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । जसमध्ये सगरमाथा इन्स्योरेन्सको वृद्धिदर भने उच्च छ । सगरमाथाले गत वर्षको तुलनामा ६४ प्रतिशतले बीमा कोष बढाउन सफल भएको छ । समग्रमा कोषको आकार वृद्धिदरको हिसाबले जनरल इन्स्योरेन्सको वृद्धिदर उच्च छ । जनरलले गत वर्षको तुलनामा ९२.०८ प्रतिशतले बीमा कोष बढाएर १२ करोड ८ लाख रुपैयाँ पुर्याएको छ । जुन गत वर्ष ६ करोड २९ लाख मात्रै थियो । कसको कति ? त्यस्तै, अन्य कम्पनीको तुलनामा सानिमा जनरलको बीमा कोषमा सबैभन्दा थोरै रकम छ । तर, कम्पनीको कोषको आकार भने गत वर्षको भन्दा बढेको छ । गत वर्ष ६ करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीको बीमा कोष अहिले ६४.१९ प्रतिशतले बढेर १० करोड ४९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा प्रुडेन्सियल इन्स्योरेन्सको भने बीमा कोषको आकार घटेको छ । गत वर्ष ५५ करोड ७२ लाख रुपैयाँको कोष रहेको कम्पनीले चालु आवमा सामान्य ०.३८ प्रतिशतले घटेर ५५ करोड ५१ लाख रुपैयाँमा झरेको छ । उता नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्सले भने हालसम्म चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।
‘सिटी आयो लखपति बनायो’ योजनाकाे ५ विजेता घाेषणा
काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कार्तिक महिनाको पाँच विजेताको नाम सार्वजनिक गरेकाे छ । पाँच जना विजेताको नाम सार्वजनिक गरेसँगैं कम्पनीले उक्त याेजना समापन भएको पनि घाेषणा गरेकाे छ । ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत ५ जनाले १/१ लाख रुपैयाँ जित्न सफल भएका छन् । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकीे , मलेशियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिल बहादुर पुन साथै अन्तिममा कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजन विजेता बनेका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।