लगानी कोषबाट बिदा भए अध्यक्ष डा. भट्टराई र सञ्चालक साउद
काठमाडौ । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउद कम्पनीबाट बिदा भएका छन् । अर्थमन्त्रालयको कार्त्तिक २८ गतेको पत्र अनुसार अध्यक्ष डा.भट्टराईको पदावधि सकिएको हो । मन्त्रिपरिषदले २०७५ असोज २१ गते भट्टराईलाई कोषको अध्यक्षमा मनोनयन गरेको थियो । बिदाई कार्यक्रममा डा.भट्टराईले बोर्ड र कार्यकारी निर्देशक बीचको लिंकेजलाई निरन्तरता दिनु पर्ने बताउदै आफुले ३७ महिनाको कार्यकालमा धेरै नै बिषयहरु सिक्न पाएको बताए । त्यसैगरी, संचालक साउदले आफ्नो कार्यकालमा गरेको सहयोगको लागि सबै संचालकहरुलाई धन्यबाद दिए । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र संचालकले पुर्याएको सहयोगको सरहना गर्दै संस्थाको कार्यलाई विधिसम्वद तरिकाले अघि बढाउदै लाने प्रतिवद्धता व्यक्त गरे ।
सुरुङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम एकैपटक झापाको सुरुङ्गा, बनेपा र म्याग्दीमा शुक्रबार सम्पन्न भएको छ। सुरुङ्गामा उक्त कार्यक्रम कन्काई क्याम्पसमा भएकाे थियाे । कार्यक्रममा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थिति रहेको थियाे जसमा बीमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्त राज धमलाले दिएका थिए । त्यसैगरी पिपुल्स बहुमुखी क्याम्पस बनेपामा रामेश्वर श्रेष्ठले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।सोही दिन कम्पनीले म्याग्दीकाे भिम माविमा विद्यार्थी, शिक्षक र समुदायका युवाहरुसहित ६० जनाको उपस्थितिमा अर्को कार्यक्रम पनि सम्पन्न गरेको थियाे ।
बीमा समितिलाई झुक्याउने सुवेदी र भट्ट कारवाहीमा
काठमाडौं । नियामक निकाय बीमा समितिलाई झुक्याउने शिशिर सुवेदी र हेमराज भट्ट कारवाहीमा परेका छन् । गैह्रकानुनी काम गरेका कास्कीको हङ्शपुर ४ का शिशिर सुवेदी र दार्चुलाका अपि ९ निवासी हेमराज भट्टलाई समितिले कारवाही गरेको हो । कास्कीका सुवेदीले समितिले आयोजना गरेको बीमा सर्भेयरको आधारभूत तालिममा सहभागी हुन्छु भन्दै निवेदन दिएका तर आफू सहभागी नभई अर्को व्यक्ति (दार्चुलाका भट्ट) लाई सहभागी गराई समितिलाई झुक्याएका थिए । जुन समितिको अनुगमन एवम् छानविनबाट पत्ता लागेको हो । यससँगै, समितिले निजहरु सुवेदी र भट्टलाई बीमा समितिको सर्भेयर तालिमसम्बन्धी कार्यविधि २०७२ को दफा १२ को उपदफा १ बमोजिम कारवाही गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी गराएका छन् । उक्त दफा बमोजिम तालिम लिन इच्छुकले तालिम कार्यक्रमको पुरै अवधिभर उपस्थिति जनाउनुपर्ने भन्ने व्यवस्था रहेको छ । समितिले यी दुबैलाई आगामी ५ वर्षसम्म बीमा समितिबाट सञ्चालन हुने सर्भेयर वा अन्य पेशागत तालिममा सहभागी हुन नपाउने गरी रोक लगाइएको कार्यकारी निर्देशक पौडेलले बताए । बीमा क्षेत्रको नियामक निकाय समितिले गत कार्त्तिक २५ गतेदेखि कार्त्तिक २९ गते (५ दिन) सम्म काठमाडौंमा बीमा सर्भेयरको आधारभूत तालिम सञ्चालन गरेको थियो । त्यस्तै, यसअघि पनि कार्त्तिक ११ गतेदेखि १५ गतेसम्म समितिले काठमाडौंमा दिएको उक्त तालिममा पर्साका बीरगञ्ज १६ निवासी सौरभराज विष्टको नाममा अर्को व्यक्ति (काठमाडौं महानगरपालिका वडा नं. ३२ निवासी सुशन श्रेष्ठ) सहभागी भएका थिए । समितिले उनीहरुलाई पनि कानुनमा भएको व्यवस्था अनुसारनै अबको ५ वर्षसम्म समितिले सञ्चालन गर्ने उक्त तालिमहरुमा सहभागी हुन नपाउने गरी रोक लगाएको छ ।