नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र गोर्खाज फाइनान्सबीच सम्झाैता
काठमाडाैं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र गोर्खाज फाइनान्सबीच मंसिर १ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एन.बी.आईले गोर्खाज फाइनान्सका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा गोर्खाज फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।
प्रभु लाइफले आर्जन गर्यो ११४ प्रतिशत बढी प्रिमियम, बीमाकोष बढेर २ अर्ब नाघ्यो
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले खुद बीमाशुल्क (प्रिमियम) ११४.१४ प्रतिशतले बढाएको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षको तुलनामा सो मात्राले प्रिमियममा वृद्धि गरेको हो । कम्पनीले २०७८ असोज मसान्तमा ५५ करोड ६३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन २०७७ असोज मसान्तमा २५ करोड ९७ लाख रुपैयाँ थियो । इन्स्योरेन्सले बीमाशुल्कसँगै नाफा पनि बढाएको छ । गत वर्ष ३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.६३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १२३.०८ रुपैयाँ र पीई अनुपात ९१.२३ गुणा छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । जगेडा कोषको रकम बढेर ४२ करोड ५४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, जीवन बीमा कोषको रकम ९२.७१ प्रतिशतले बढेर २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । र, महाविपत्ती जगेडाको रकम पनि बढेर ३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । इन्स्योरेन्सले हालसम्म २ लाख ६९ हजार १८७ वटा बीमालेखबाट ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, ५९८ वटा दावीबाट १५ करोड ८३ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ । र, १४ वटा दावीबाट ८१ लाख ८ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी रहेको इन्स्योरेन्सले जनाएको छ ।
ज्योति लाईफको बीमाकोष शतप्रतिशतले बढ्यो, अधिकांश सूचकमा देखियो सुधार
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोष, बीमाशुल्क लगायत विभिन्न सूचकमा वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा बीमाशुल्क ५० प्रतिशतले बढाएको छ । गत वर्ष ५४ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको इन्स्योरेन्सले यो वर्ष ८१ करोड ७८ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । त्यस्तै, कुल लगानी रकममा ८२ प्रतिशतले वृद्धी गरेको छ र खुद नाफामा २८ प्रतिशतले वृद्धी गरी ९ करोड २३ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ६६ करोड १० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीले जीवन बीमा कोषको रकम १०१ प्रतिशतले बढाएर ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष उक्त कोषमा २ अर्ब २५ करोड रुपैयाँ मात्रै थियो । उक्त कोष बलियो भएसँगै बीमितहरुले पाउने बोनसदरमा समेत सकारात्मक प्रभाव पर्ने इन्स्योरेन्सले जनाएको छ ।