बुद्ध ज्योतिलाई प्राप्ति गरेको मिर्मिरे लघुवित्तले एकीकृत कारोबार गर्दै, चुक्ता पुँजी ५३ करोड बढी

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई एक्वायर (प्राप्ति) पश्चात एकीकृत कारोबार गर्ने भएको छ । भैरहवाको लुम्बिनीमा रहेको बुद्ध ज्योतिलाई एक्वायर गरेको मिर्मिरेले भदौ १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेको हो । दुई संस्थाबीच एकीकृत कारोबार भदौ १५ गते बिहान ११ बजे मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय बनेपास्थित सभाहलमा हुने छ । उक्त एकीकृत कारोबार पश्चात बन्ने मिर्मिरे लघुवित्तको अधिकृत पुँजी ६० करोड र चुक्ता पुँजी ५३ करोड १२ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, शाखा संख्या १५० वटा पुग्ने छन् । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुष्करराज जोशीले संस्थाले आगामी दिनमा सेवाग्राही, लगानीकर्ता एवं आवद्द कर्मचारीको उज्वल भविष्य निर्माणमा लघुवित्तको मर्म र भावना अनुरुप आफ्नो कार्यसंचालन निरन्तर रहने बताएका छन् । मिर्मिरेले यस अघि धुनिवेशीको स्वेडा लघुवित्त वित्तीय संस्था, झापाको बिर्तामोडमा रहेको नागबेली लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरिसकेको थियो । आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत बोनस सेयर दिएको संस्थाले आर्थिक वर्ष २०७८/७९ मा २० करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । श्रृजनशील लघुवित्तको आईपीओ आज (भदौ १५ गते, मंगलबार) देखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत आर्थत् ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा छिटोमा १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत् आवेदन दिन सकिनेछ ।

पूँजी वृद्धि गर्न एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीको १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । बीमा समितिले चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएपछि कम्पनीले हकपद जारी गर्ने निर्णय गरेको हो । कम्पनीलाई चुक्ता पूँजी वृद्धि गर्न बाध्यता परेकोले हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीलाई बीमा समितिबाट स्वीकृत भएर आगामी साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ ।