प्रभु क्यापिटलको ‘प्रभु ऐश्वर्या योजना’ काे वार्षिक सेवा शुल्कमा छुट
काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा अफर ल्याएको छ । क्यापिटलले पिएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको हो । यो अफर भदौ १४ गते हरितालिका तीजका दिनदेखि भदौ ३१ गतेसम्म सञ्चालनमा आउने क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार यो अवधिभित्र यस लगानी व्यवस्थापन सेवामा आवद्व हुने महिलाले एक वर्षका लागि वार्षिक सेवा शुल्क मा १०० प्रतिशत नै छूट पाउने छन् । यो योजनामा यसअघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा महिलालाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिई १ प्रतिशत मात्र एएमसि लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ । यस योजनामा महिला ग्राहकहरुले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्ने क्यापिटलले जनाएको छ ।
बीमा कम्पनीहरु मुद्दती निक्षेपमै आकर्षित, घरजग्गामा नेशनल लाइफ बाहेक ४० वटाकै लगानी शून्य
काठमाडौं । बीमा कम्पनीहरुमध्ये नेशनल लाइफ इन्स्योरेन्सले मात्रै घर जग्गामा लगानी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जीवन, निर्जीवन र पूनर्बीमा कम्पनीमध्ये नेशनल लाइफले मात्रै उक्त क्षेत्रमा लगानी गरेको हो । कम्पनीले एक वर्षको अवधिमा ३६ करोड २४ लाख ८४ हजार रुपैयाँ घर जग्गामा लगानी गरेको छ । समितिका अनुसार कम्पनीहरुले कूल लगानीमध्ये बढीमा ५ प्रतिशत घर जग्गामा पाउने व्यवस्था छ । तर, उक्त व्यवस्थालाई अधिकांश कम्पनीले अटेर गरेको पाइएको छ । गत आवमा कम्पनीहरुले घर जग्गामा शून्य लगानी गरेका छन् । त्यस्तै, जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीले नेपाल सरकारको बचतपत्रमा २ अर्ब ४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जसमा मेट लाइफले १ अर्ब ६८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १० करोड, राष्ट्रिय बीमा संस्थाले २५ करोड रुपैयाँ र सन नेपाल लाइफले १ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् । ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा भने सबै कम्पनीले लगानी गरेका छन् । १९ वटै कम्पनीले एक वर्षमा ३ खर्ब १६ अर्ब रुपैयाँ बराबरको लगानी गरेका बीमा समितिले जानकारी गराएको छ । जुन कम्पनीहरुले गरेको लगानीमध्ये सबैभन्दा बढी हो । त्यस्तै, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा २५ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । नेशनल लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ र सन नेपाल लाइफ गरी ५ वटै कम्पनीले ५/५ करोड उक्त क्षेत्रमा लगानी गरेका हुन् । यता सूचीकृत कम्पनीको सेयरमा मेटलाइफबाहेक सबैले लगानी गरेको पाइएको छ । १८ कम्पनीले कूल ८ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् । त्यसैगरी विभिन्न बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । यो क्षेत्रमा नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, मेट लाइफ, एशियन लाइफ, आइएमई लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ र रिलायबल लाइफको भने शून्य लगानी छ । त्यस्तै, सूचीकृत कम्पनीको ऋणपत्रमा २१ अर्ब ८७ करोड, पूर्वाधार क्षेत्रमा ७ अर्ब १४ करोड, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ९८ करोड ४१ लाख, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४२ अर्ब ४४ करोड रुपैयाँ र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ४ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेका छन् । त्यसैगरी, अन्य लगानी अन्तर्गत संस्थापक सेयरमा ८ अर्ब ८ करोड, सूचीकृत नभएको कम्पनीमा ४२ करोड ७३ लाख र अन्य लगानीमा २८ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ लगानी गरेका छन् । समग्रमा जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कूल ४ खर्ब ७३ अर्ब १६ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३१.६७ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा ३ खर्ब ५९ अर्ब ३३ करोड रुपैयाँ बराबरको लगानी गरेका थिए ।
हिमालयनभन्दा नेपाल रिले गर्यो दोब्बर बढी लगानी, कुन क्षेत्रमा कति ?
काठमाडौं । पुनर्बीमा कम्पनीहरुले एक वर्षको अवधिमा २६ अर्ब १८ करोड ७३ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । बीमा समितिका अनुसार नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न क्षेत्रमा सो मात्राको लगानी गरेका हुन् । जसमध्ये सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सले गरेको छ । कम्पनीले गत आवमा विभिन्न क्षेत्रमा गरी कूल १८ अर्ब ७४ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । जुन हिमालयन रिको तुलनामा १५२ प्रतिशत बढी हो । समिक्षा अवधिमा हिमालयन रिले भने ७ अर्ब ४४ करोड ४० लाख रुपैयाँ बराबरको लगानी गरेको समितिले जनाएको छ । नेपाल रिले विभिन्न ९ क्षेत्रमा लगानी गरेको छ । कम्पनीले नेपाल सरकारको ऋणपत्रमा ३ करोड, क वर्गका बैंकको मुद्दती निक्षेपमा १४ अर्ब २ करोड र सूचीकृत कम्पनीको साधारण सेयरमा ९ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर तथा ऋणपत्रमा १ अर्ब ७३ करोड र म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ९ करोड ५१ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । साथै, कम्पनीले ख वर्गका संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । यता हिमालयन रिले भने जम्मा दुई वटा क्षेत्रमा लगानी गरेको छ । कम्पनीले क वर्गको बैंकको मुद्दती निक्षेप र विभिन्न वित्तीय संस्थाको अग्राधिकार सेयर तथा ऋणपत्रमा लगानी गरेको छ । जसमध्ये मुद्दती निक्षेपमा ६ अर्ब ८५ करोड रुपैयाँ र अग्राधिकार सेयरमा ५८ करोड ९० लाख रुपैयाँ लगानी गरेको समितिले जानकारी गराएको छ । नियामक निकाय बीमा समितिले कम्पनीहरुलाई विभिन्न क्षेत्रमा लगानी गर्न बाटो खुला गरेको छ । तर समितिले छुट्टा छुट्टै ठाउँमा लगानी गर्नको लागि छुट्टै अर्थात न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ४० प्रतिशतसम्मको सीमा तोकिदिएको छ । हिमालयन रि नयाँ पुनर्बीमा कम्पनी हो । हालसम्म कम्पनी दोश्रो बजारमा सूचीकृत भएको छैन ।