श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । श्रृजनशील लघुवित्तको आईपीओ आज (भदौ १५ गते, मंगलबार) देखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत आर्थत् ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा छिटोमा १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत् आवेदन दिन सकिनेछ ।

पूँजी वृद्धि गर्न एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीको १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । बीमा समितिले चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएपछि कम्पनीले हकपद जारी गर्ने निर्णय गरेको हो । कम्पनीलाई चुक्ता पूँजी वृद्धि गर्न बाध्यता परेकोले हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीलाई बीमा समितिबाट स्वीकृत भएर आगामी साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ ।

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले गर्यो १२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ । योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि फण्डका ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले लाभांश बाँड्ने निर्णय गरेको हो । यो भनेको १० करोड ३२ लाख रुपैयाँ हो । ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना चाँडै प्रकाशित हुने कम्पनीले जनाएको छ । फर्स्ट म्युचुअल फण्ड सनराइज बैंकले प्रवर्द्धन गरेको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरेको छ ।