
काठमाडौं । पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।
सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवर्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा। ऋषी कुमार र आइएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् । मंगलबार दिल्लीमा उक्त समझदारी पत्र आदानप्रदान भएको हो ।
समझदारी पत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै रामदेवले उक्त साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउनुको साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उनीहरूको परिवारका सदस्य वा नातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधाजनक एवम् सहज माध्यम थपिएको बताए ।
नेपालभर विस्तारित संजाल भएको आइएमई पे वा आइएमई एजेन्टहरूबाट रेमिटेन्स प्राप्त गर्न सजिलो हुने विश्वास पतञ्जली आयुर्वेद र आइएमई इन्डिया लिएका छन् ।