बीमा प्राधिकरणका अध्यक्ष थापालाई जीवन बीमा संघले दियो बधाई

काठमाडौं । जीवन बीमा संघ नेपालले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

संघका प्रतिनिधिमण्डलले बिहीबार नवनियुक्त अध्यक्ष थापालाई भेट गरी उनको नियुक्तिप्रति बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

भेटका क्रममा संघका प्रतिनिधिहरूले थापाको नेतृत्वमा नेपालको बीमा क्षेत्र थप व्यावसायिक, पारदर्शी र सुशासित बन्ने विश्वास व्यक्त गरेका छन् । साथै, उनको अनुभव र नेतृत्वले बीमा क्षेत्रको नियामकीय व्यवस्थालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन योगदान पुग्ने अपेक्षा गरेका छन् ।

सो अवसरमा जीवन बीमा क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा अवसर, बीमाको पहुँच र दायरा विस्तार, जनविश्वास अभिवृद्धि, बीमा साक्षरता प्रवर्द्धन तथा सेवाको गुणस्तर सुधारलगायतका विषयमा छलफल भएको थियो ।

संघले बीमा क्षेत्रको विकास र विस्तारका लागि आवश्यक नीतिगत सुधार, व्यावहारिक नियामकीय व्यवस्था तथा संस्थागत क्षमता अभिवृद्धिमा प्राधिकरणसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

जवाफमा नवनियुक्त अध्यक्ष थापाले प्राप्त बधाई तथा शुभकामनाप्रति आभार व्यक्त गर्दै बीमा क्षेत्रको समग्र विकास, स्थायित्व, पारदर्शिता र सुशासनका लागि सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघले थापाको नेतृत्वमा नेपालको बीमा क्षेत्रले नयाँ उचाइ हासिल गर्ने विश्वाससमेत व्यक्त गरेको छ । 

Share News