सीबीआईएल क्यापिटलले ल्यायो कम जोखिममा उच्च प्रतिफल दिने योजना
काठमाडौं । सीबीआईएल क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना सीबीआईएल पोर्टफोलियो अफ म्युचुअल फण्ड शुरु गरेको छ । यो फण्ड नविनतम् अवधारणमा आधारित योजना हो, जसले ग्राहकलाई भिन्न किसिमको लगानीको अनुभव प्रदान गर्दै कम जोखिममा उच्च प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ । यो योजना अन्तर्गत लगानीकर्ताले न्यूनतम तीन लाख रुपैयाँ लगानी गर्नुपर्छ । जसको अवधि २ वर्षको हुने छ । र, वार्षिक सेवा शुल्क ०.५० प्रतिशत रहेको समेत क्यापिटलले जानकारी गराएको छ । यो योजनाका विभिन्न विशेषताहरु छन् । दक्ष तथा योग्य जनशक्तिद्वारा संचालित यो योजनाको अनलाइन मार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने छ । त्रैमासिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हुने र सामुहिक लगानी कोषहरु तथा प्राथमिक निष्काशन (आईपीओ तथा एफपीओमा) लगानी गर्ने छ । यो योजनाअन्तर्गत दक्ष तथा योग्य जनशक्तिद्वारा सामुहिक लगानी कोषहरुको पोर्टफोलियो नियमित निगरानी गरी ग्राहकहरुको जोखिम प्रोफाइल, लगानी रकम र लक्ष्यका आधारमा अनुकूलित पोर्टफोलियो तयार पारि लगानी गरिन्छ । यो सेवा लिनको लागि ग्राहकले बाटुलेघरस्थित सीबीआईएल क्यापिटल वा सिटिजन्स बैंकको डिल्लीबजारस्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
मुथुट फिनकर्प र आइएमईबीच सम्झौता
काठमाडौं । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा मुथुट फिनकर्पका तर्फबाट सीईओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका हुन् । इण्डियामा बुधबार आयोजित उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो । यस अवसरमा बोल्दै मुथुट फिनकर्पका सीईओ साजी वर्गीसले आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोमा सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम भएको विश्वास व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले इण्डियामा आइएमईको पहुँच विस्तार भएको बताए । आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इण्डो नेपाल रेमिटेन्स सेवा विस्तारका लागि महत्त्वपूर्ण हुने धारणा राखे । यस अवसरमा बोल्दै आइएमईका गौतम नैथानीले मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो-नेपाल रेमिटेन्स सेवामा अर्को कोसेढुङ्गा थपिने बताउँदै ग्राहकहरूले दुवै कम्पनीको फराकिलो नेटवर्कबाट फाइदा लिन सक्नेछन् । यो साझेदारीले आफ्नो मेहनतको कमाइ नेपालका परिवारहरूलाई घर फर्काउनको लागि भरपर्दो र सुरक्षित प्लेटफर्म प्रदान गर्नेछ । नेपाली आप्रवासीहरूले मुथुट फिनकर्पको ३६०० भन्दा बढी शाखाहरूमध्ये कुनै पनि शाखाबाट नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल पैसा पठाउन सक्नेछन् । नेपालको लागि, विप्रेषण आप्रवाह सन् २००२ देखि बढेको छ र हाल आप्रवाह हुँदै आएको रेमिटेन्सले नेपालको राष्ट्रिय ग्राहस्थ उत्पादनको औषतमा लगभग २३ प्रतिशत योगदान गर्दछ । नेपालले पाएको कुल रेमिट्यान्सको १५ प्रतिशत भारतबाट आएको अनुमान छ । हरेक वर्ष धेरै नेपालीहरू मौसमी बसाइँसराइ, पार्टटाइम जागिर र सरकारी जागिरलगायत विभिन्न पेशाका लागि भारत जाने गर्छन् । आइएमई सन् २००१ देखि रेमिटेन्स व्यवसायमा लागिरहेको छ । यो सुविधाबाट ५० लाख नेपाली आप्रवासी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
समृद्धि फाइनान्सले राष्ट्र बैंकबाट पायो बजार निर्माताको इजाजत
काठमाडौं । समृद्धि फाइनान्सले नेपाल राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत पाएको छ । राष्ट्र बैंकले ‘बजार निर्मातासम्बन्धी कार्यविधि, २०७०(दोश्रो संशोधन २०७६ बमोजिम)’ गर्ने गरि समृद्धि फाइनान्सलाई इजाजत दिएको हो । यससँगै फाइनान्सले नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकद्वारा निष्काशित बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोश्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार गर्ने छ । राष्ट्र बैंकले लामो अवधिका ऋणपत्रहरुको प्राथमिक एवम् दोस्रो बजार कारोबारलाई प्रवद्र्धन गर्ने तथा व्यवस्थित बनाउने उद्देश्यले वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्थाहरुलाई बजार निर्माताको इजाजत दिँदै आएको छ । जसअनुसार इजाजत प्राप्त संस्थाहरुले राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार मात्र गर्ने एवम् भविष्यमा नेपाल सरकारको तर्फबाट निष्काशन हुने अन्य ऋणपत्रको समेत प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न पाउने छन् । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।