सहकारीका सञ्चालकको तिनपुस्ते विवरण माग, अधिकांशको लगानी घरजग्गामा

काठमाडौं । सहकारी विभागले समस्यामा परेका सहकारी संस्थाहरुका सञ्चालकको तीनपुस्ते विवरण माग गरेको छ । पछिल्लो समय एकपछि अको सहकारी संस्थामा समस्या देखिएको र सञ्चालक पनि भाग्ने प्रवृति बढ्दा विभागले समस्यामा परेका सम्पूर्ण सहकारीका सञ्चालकहरुको तीनपुस्ते विवरण माग गरेको हो । सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले समस्यामा परेका सहकारी संस्थाहरुका सञ्चालकहरुको तीन पुस्ते विवरण माग गरेको बताए । आइतबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२औं स्थापना दिवसमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो विषयको जानकारी दिएका हुन् । ‘पछिल्लो समय एकपछि अर्को सहकारीमा समस्या देखिएकाे छ, यसमा हामी सजग भएर काम गरिरहेका छौं, कतिपय सहकारीमा सञ्चालक नै फरार हुने र बचतकर्ताको रकम डुब्नेसम्मको जोखिम हुन सक्छ, त्यसैले पनि समस्यामा परेका सहकारी संस्थाहरुका सञ्चालकहरुको तीनपुस्ते विवरण माग गरेका छौं, तीन पुस्ते विवरण आएपछि सहकारी समस्यामा परेपनि बचतकर्ताको रकम उनीहरुबाट भराउँछौं,’ उनले कार्यक्रममा भने । यस्तै, उनले कतिपय सहकारीमा सञ्चालकहरु परिवर्तन भएकोले विवरण पाउन मुस्किल भइरहेको बताए । तर, अधिकांशको विवरण विभागमा आइसकेको उनकाे भनाइ छ । उनका अनुसार अहिले केही सहकारीहरुमा तरलताको ठूलो समस्या छ । विभागले अध्ययन गर्दै जाँदा कतिपय सहकारीहरुम एक प्रतिशत पनि तरलता नरहेको भेटाएको हाे । समस्या देखिएका सहकारीहरुले नीति नियमको कुनै प्रवाह नगरी घरजग्गामा लगानी गर्दा एक्कासी समस्या सिर्जना भएको तर्क दिए । धेरै सहकारीहरुले शतप्रतिशत लगानी घरजग्गामा गरेकाे बताए । यस्तै, उनले अहिले विभागले सबै सहकारीहरुलाई वित्तीय विवरण प्रकाशितका लागि निर्देशन दिएकोले त्यसले पनि केही तथ्यांक आउने र सहकारीको यथार्थ वस्तुस्थिति देखाउने धारणा राखे । उनका अनुसार फागुनसम्म विभागले नेपालका सहकारीका सम्पूर्ण तथ्यांकहरु सार्वजनिक गर्नेछ । उनले आफुले वर्तमान सहकारीको समस्या प्रधानमन्त्री शेरबहादुर देउवा संयोजक रहेको राष्ट्रिय समस्या समाधान समतिमिा पुर्याइसकेको बताउँदै सो समितिले पनि यो समस्यालाई सम्बोधन गर्नेमा आफु विश्वस्त रहेको धारणा राखे । उनले अहिले सहकारीका विषयमा धेरै समस्या बाहिरिँदा पनि बचतकर्ताहरुले आत्तिएर आवधिक बचत पनि फिर्ता मागिरहेको बताए । यसले पनि सहकारीलाई एक किसिमको दबाब सिर्जना गरेको बताए । पछिल्लो समय सहकारी संस्थाहरुमा पनि मर्जरको विषयले प्राथमिकता पाइरहेको बताउँदै यसमा विभाग सकारात्मक भएको उनले बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेबी मल्लले विश्वको अर्थतन्त्रमा नै समस्या आउँदा सहकारीमा पनि केही समस्याको संकेत देखिएको बताइन् । सहकारी संस्थाहरु स्वनियमन, अनुशासन र शुसानको अभ्यास गरिनै रहेको बताउँदै उनले केही सीमित सहकारीको कारण सहकारी क्षेत्र नै बदनामी बन्नु परेको धारणा राखिन् । यसमा सहकारीका सदस्यहरु पनि जिम्मेवार बन्नु पर्ने उनले बताइन् । यस्तै, उनले विभिन्न बैंकहरुले १० गुणा बढी बचत योजना ल्याएको कारण पनि सहकारीमा केही समस्या आएको बताइन् । ‘मेरो स्मरण भएसम्म बैंकहरुले यस्ता खालको आकर्षक मुद्दति योजना ल्याएका थिएनन्, मानिसहरु सहकारीमै बचत गर्न रुचाउँथे, बैंकहरुले पैसा १० गुणासम्म बढ्ने योजना ल्याएपछि सहकारीहरुबाट पैसा झिकेर बचतकर्ताले पैसा ती योजनाहरुमा राख्ने थाले, तरलतामा समस्या भएकै कारण बैंकहरुले निक्षेप बढाउन त्यस्ता योजनाहरु ल्याए, जसको प्रत्यक्ष असर सहकारीमा परेको हो,’ उनले कार्यक्रममा भनिन् । यस्तै, नेपाल नेपाल बचत तथा ऋण केन्द्रिय संघ (नेफ्स्कुन)काक वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पनि पछिल्लो समय केही सहकारीमा समस्या आएकोले सबै मिलेर त्यस्ता समस्या नआउने वातावरण सिर्जना गर्नु पर्ने धारणा राखे । उनले सहकारीमा संख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धि हुनु पर्ने बताए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले पनि सहकारी संस्थाहरु गुणस्तरीय हुनु पर्नेमा जोड दिए । सहकारी संस्थाहरुमा तरलताको अभाव हुँदै गएको बताउँदै उनले त्यसमा सजग बन्नु पर्ने धारणा राखे ।

कनेक्ट आइपिएसमार्फत फण्ड ट्रान्सफर गर्दा १०२ रुपैयाँ क्यासब्याक

काठमाडौं । नेपाल क्लियरीङ्ग हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैंकिङ्गबाट गरिने फण्ड ट्रान्सफरमा ट्विस्ट अफ टु को अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता मोबाइल बैकिङ्गको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये १०२ जनाले १०२ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सो अफर भदाै १९ गतेदेखि असोज २९ गतेसम्म लागु हुने कम्पनीले जनाएकाे छ । कम्पनीले आईतबारदेखि शनिबार सम्मको समयावधिमा लकी ड्र मार्फत साप्ताहिक विजेताहरु छानिने र सोको जानकारी हरेक हप्ताको अन्त्य पछि www.connectips.com मा प्रकाशन गरिने जनाएकाे छ । ग्राहकले फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–इन गरी, फन्ड ट्रान्सफर वा सेन्ड मनिमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्ने हुन्छ । कनेक्ट आइपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आइपिएस मार्फत प्रति दिन प्रति कारोबार २ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ । कनेक्टआइपिएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपिएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । कनेक्ट आइपिएस मार्फत चालु आर्थिक वर्षको करिब देढ महिनामा ३९५ अर्ब बराबरको ५२ लाखभन्दा बढी भुक्तानी कारोबार फर्छयाैट भइसकेको छ ।

सबैको विश्वासिलो बनौं, वित्तीय जोखिमांकन गर्दा बढी चनाखो होऔं : बीमा समिति

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा समितिले आयोजना गरेको बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख एवम् कर्मचारीहरुसँग भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । कार्यक्रममा उनले नागरिकको जीवन तथा सम्पत्तिको बीमा गरेर आर्थिक जोखिम लिने काम बीमा कम्पनीहरुको भएको र त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए । अध्यक्ष सिलवालले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, गरीब र पिछडिएका वर्गसम्म बीमाको पहुँच नपुगेकाले लघुबीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै गरीब, विपन्न र पिछडिएका वर्गले आफ्नो क्षमता र चाहना अनुसार बीमा गर्न पाउनुपर्छ भन्नेमा समिति दृढ रहेको बताए । अन्तरक्रिया कार्यक्रममा सोधिएका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालयमा निरन्तर छलफल भइरहेको र चाँडै नै दाबी भुक्तानी शुरु हुने जानकारी दिए । अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको विद्यमान पुँजीले जोखिम धान्न नसक्ने भएकाले चुक्ता पुँजी वृद्धिको निर्णय गरिएको, बीमा कम्पनीहरुलाई प्रदेश तथा शाखा कार्यालयहरुमा दाबी भुक्तानी सहितको अधिकार प्रत्यायोजन गर्न निर्देशन दिइएको र बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरुलाई सचेत गराइएको बताए । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले वित्तीय जोखिमांकन राम्रो भएमा आपराधिक घटना हुन नपाउने भएकाले बीमा कम्पनीहरु वित्तीय जोखिमांकन गर्दा बढी चनाखो हुनुपर्ने बताए । त्यस्तै, कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयमा अधिकार प्रत्योजन नहुँदा ससानो दावी भुक्तानीका लागि केन्द्रमै जानुपर्ने बाध्यता रहेको, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा देखिएको, शाखा कार्यालयहरुमा कर्मचारीको अभाव भएको, विपन्न, गरीब र पिछडिएका बर्गको क्षमता र आवश्यकता अनुसारको बीमालेख नभएको, स्वास्थ्य जोखिमांकनको परीक्षणका लागि स्वास्थ्य चौकीहरुमा उपकरणको अभाव भएको लगायतका धारणा राखेका थिए । कार्यक्रममा बीमा समितिका निर्देशक दिनेशकुमार लाल, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमितहरु लगायतको सहभागिता रहेको थियो ।