विदेशमा रहेका नेपालीले जनुसकुै देशबाट पनि प्रभु बैंकमा डलर खाता खोल्न सक्ने

काठमाडाैं । प्रभु बैंक र गैर आवासीय नेपाली सङ्घबीच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैकिङ सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैर आवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष विनोद कुवँरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार गैर आवासीय नेपाली तथा गैर आवासीय नेपाली सङ्घका सदस्यहरुले विदेशका जुनसुकै देशहरुबाट पनि प्रभु बैंकमा विदेशी मुद्रामा बचत खाता खोल्न तथा संचालन गर्न सक्नेछन् । बैंककाे अनुसार यस प्रकारका खाताहरु अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येनमा न्युनतम मौज्दात अमेरिकी डलर एक हजार वा सो बराबरको उपर्युक्त परिवत्र्य विदेशी मुद्रा कायम गरी खोल्न सकिनेछ । साथै, यसरी खोलिएको खातामा नेपाल राष्ट्र बैंकको निति, नियम तथा निर्देशनको अधिनमा रहि विदेशबाटै बैंकिङ्ग प्रणलीबाट मात्र रकम जम्मा गर्नु पर्नेछ । यस्ता खातामा नगद रकम जम्मा गर्न पाईने छैन र जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याज विदेशमानै फिर्ता लानु परेमा जम्मा गरेकै मुद्रामा जुन देशबाट रकम पठाएको हो सोही देशमा निक्षेप कर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाईनेछ । तर, यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिने बैंकले जनाएकाे छ ।  

पैसा नभएको बैंकको चेक काट्ने पुरानो बानेश्वरकी माया पक्राउ, ९० लाख जरिवाना तिर्नुपर्ने

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ९० लाख जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट ९० लाख जरिवाना ठहर भएका खोटाङको दिक्तेल घर भई काठमाडौँको पुरानो बानेश्वर बस्ने ३५ वर्षीय माया बस्नेत थापालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ थापालाई ९० लाख भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । फरार रहेकी थापालाई ललितपुरको बगलामुखीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ ।

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले जिते मेलम्चीको मुद्दा, १८२ करोड फिर्ता पाउने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बैंक ग्यारेन्टी विवाद सम्बन्धि मुद्दाको अन्तिम फैसला नेपाली बैंकको पक्षमा आएको छ । यसबाट दुई वाणिज्य बैंकले कम्तिमा १ अर्ब ८२ करोड रुपैयाँ फिर्ता पाउने भएका छन् । चीनको सर्वोच्च अदालतले अन्तिम फैसला नेपाली बैंकको पक्षमा फैसला गरेको हो । यो मुद्दा विगत एक दशकदेखि विभिन्न अदालतमा चल्दै आएको थियो । मुद्दा जितेसँगै बैंक अफ काठमाडौंले करिब एक अर्ब २ करोड रुपैयाँ र हिमालयन बैंकले करिब ८० करोड रुपैयाँ  फिर्ता पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंक अफ काठमाण्डू र हिमालयनले उक्त जमानत सम्बन्धी परेको भुक्तानी सम्बन्धी मुद्दा जितेका हुन् । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई काउन्टर ग्यारेन्टी दिएको थियो । तर नेपाली कम्पनीले चिनियाँ ठेकदारलाई भुक्तानी दिएपनि चाइना कन्स्ट्रक्सन बैंकले बैंक ग्यारेन्टी वापत नेपाली बैंकलाई भुक्तानी दिन मानेकाे थिएन । यो विवादकाे अन्तिम  फैसलासंगै दुइ बैंकले काउन्टर ग्यारेन्टी वापतकाे मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ वापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएकाे उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए । उक्त रकम अहिलेको विनिमयदरमा १ अर्ब २ करोड रुपैयाँ बराबर हुन्छ । त्यस्तै, यस मुद्दाबाट हिमालयन बैंकले ६३ लाख डलर अर्थात करिव ८० करोड रुपैयाँ फिर्ता पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । मुद्दा जितेपछि अदालतमा मुद्दा लड्दा भएकाे खर्च र १० वर्षसम्मकाे क्षतिपूर्ति पनि माग गर्ने भएकाेले थप रकम अाउने राणाले बताए ।