राष्ट्र बैंकबाट ४७ अर्ब निक्षेप झिके बैंकहरुले, चल्तीको नोट पनि १७ अर्बले घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुबाट बचतकर्ताले पैसा झिकिरहेका बेलामा बैंक तथा वित्तीय संस्थाहरुले पनि राष्ट्र बैंकबाट ठूलो मात्रामा निक्षेप फिर्ता लिएका छन् । साउन महिनामा वाणिज्य बैंकहरुबाट मात्र करिव ११५ अर्ब रुपैयाँ निक्षेप घटेको थियो । गत असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप जम्मा भएकोमा साउन मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रूपैयाँ पुगेकाे छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार भदौ ६ गते वाणिज्य बैंकहरुमा ४४ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको छ । राष्ट्र बैंकको तथ्याङ्कमा पनि हरेक दिन करिव २ अर्ब रुपैयाँले निक्षेप घटेको देखिएको छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट पनि करिव ४७ अर्ब रुपैयाँ निक्षेप निकालेका छन् । राष्ट्र बैंकका अनुसार असार मसान्तमा राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले राखेको निक्षेप १ खर्ब ९९ अर्ब रुपैयाँ रहेको साउन मसान्तमा १ खर्ब ५२ अर्ब रुपैयाँ मात्र रहेको छ । तर नेपाल राष्ट्र बैंकमा सरकारको निक्षेप भने ७० अर्ब रुपैयाँले बढेको छ । असार मसन्तमा सरकारी खातामा २ खर्ब २५ अर्ब बचत रहेकोमा साउन मसानतसम्ममा २ खर्ब ९९ अर्ब रुपैयाँ बचत रहेको छ । साउन महिनामा सरकारले राजश्व संकलन र प्रशासनिक खर्च मात्र गरेको, विकास खर्च गर्नै नसकेको कारण सरकारी निक्षेप वृद्धि भएको जानकारहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट लिने ऋण तथा सापटी पनि १० अर्ब रुपैयाँ कम भएको छ । असार मसन्तसम्ममा राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७० अर्ब ऋण तथा सापटी लिएकोमा साउन मसान्तसम्ममा २ खर्ब ६० अर्ब रुपैयाँमा घटेको छ । पछिल्लो एक महिनामा चलनचल्तीमा रहेको नोटमा १७ अर्बले गिरावट आएको छ । असार मसान्तसम्ममा ६ खर्ब १६ अर्ब रुपैयाँ बराबरको नोट बजारमा वितरित रहेकोमा अहिले ५ खर्ब ९९ अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ । यसअवधिमा सुनचाँदीमा नेपाल राष्ट्र बैंकले थप २ अर्ब लगानी गरेको छ । निजी क्षेत्रबाट सुनचाँदीमा लगानी गर्न निरुत्साहित गरेको राष्ट्र बैंकसँग आफूसँग भएको सुन चाँदी भने बढेर ८७ अर्ब ८८ करोड रुपैयाँ बराबर भएको छ । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् नै मनी सर्कुलेसन कम गर्ने नीति अनुसार बजारमा पनि पैसा कम गएको धारणा राखे । ‘चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नै हामीले मनी सर्कुलेसन कम गर्ने नीति लिएका छौं, सोही अनुसार कम भएको हो,’ उनले भने ।

सानिमा बैंकको १० वर्षे डिबेन्चर नेप्सेमा सूचीकृत

काठमाडौं । सानिमा बैंक लिमिटेडको १० वर्ष अवधि र १० दशमलब २५ प्रतिशत ब्याजदर भएको डिबेन्चर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच अंकित तथा चुक्ता मूल्य १ हजार रहेको ५० लाख संख्यामा ऋणपत्रको सूचीकरण सम्झौता भएको हो । बैंकले सर्वसाधारण समक्ष आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत् उक्त ऋणपत्र सर्वसाधारणलाई खुल्ला बिक्रीको लागि आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण गरिएको हो । नेपाल स्टक एक्सचेन्ज र उक्त कम्पनीबीच सम्झौता भएको भोलिपल्ट बुधबारबाट उक्त ऋणपत्रको कारोबार हुने जनाइएको छ ।

सुधीर बस्नेतले नविल बैंकलाई साढे ४६ करोड तिर्नुपर्ने, समय ७ दिन मात्र

काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतले नविल बैंकलाई ४६ करोड ५२ लाख रुपैयाँ बुझाउनु पर्ने भएको छ । विभिन्न बैंकको कर्जा तिर्न नसकेर कालोसूचिमा रहेका, सहकारीको बचतकर्तालाई निक्षेप रकम फिर्ता गर्न नसकेर आर्थिक संकट भोगिरहेका बस्नेतलाई ७ दिन भित्र उक्त रकम तिर्न ताकेता गरिएको छ । बस्नेतले कोहिनुर हिल हाउजिङको नाममा नविल बैंकबाट १४ करोड ६ लाख ३४ हजार ऋण लिएका थिए । त्यसको व्याजमात्र ३२ करोड ४५ लाख नाघेको छ । उक्त ऋण विवादमा ऋण असुली न्यायाधिकारणले पनि बैंकको पक्षमा फैसला गरेको छ ।