एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?
काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एनआईसी एशियाले असोज १६ गतेदेखि असोज २८ गतेसम्म र एभरेष्ट बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज असोज १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत नगद गरी कूल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न असोज २८ गते आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ९ बजे २६ औँ वार्षिक साधारण सभा बोलाएको छ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न असोज ३० गते लैनचौर ब्याङ्कवेट काठमाडौंमा २९ औँ वार्षिक साधारण सभा बिहान ९ बजे बोलाएको छ ।
नेपाल बैंकबाट बाहिरिए अधिकारी, पन्तले पाइन् जिम्मेवारी
काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी औपचारिक रुपमा बाहिरिएका छन् । सीईओको रुपमा ४ वर्षे कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिएका हुन् । वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका रुपमा नियुक्त नगरेपछि उनी बैंकबाट बाहिरिएका हुन् । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नदोहोर्याउने निर्णय गरेको बैंक स्रोतले बताएको छ । नेपाल बैंककै प्रडक्ट रहेका अधिकारी नेपाल बैंकबाटै सीईओ बन्ने पहिलो ब्यक्ति हुन् । नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई दशक बढी कार्य अनुभव हासिल गरेका अधिकारीले एमबिए र ईएमबिएसम्मको अध्ययन पुरा गरेका छन् । अधिकारी बाहिरिएपछि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तलाई दिईएको छ । आजै बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख (डीसीईओ)पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए । विभिन्न जिम्मेवारीमा रही २ दशक बढिको बैंकिङ्ग अनुभव सँगालेकी पन्तले एम.बि.एससम्मको अध्ययन गरेकी छिन् ।
कुमारी बैंकले ल्यायो २६ लाखसम्मको बीमा सुविधा दिने बचत खाता, असोज १५ गतेदेखि लागू हुने
काठमाडौं । कुमारी बैंकले दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । यो अवसरमा बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको हो । यो योजनामा २६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका ४ जना सदस्यलाई एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाखसम्मको दुर्घटना बीमा तथा एक लाखसम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको छ । साथै, खाता खोलिएको पहिलो वर्षको लागि लकर सुविधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट/क्रेडिट कार्ड सुविधा प्रदान गर्ने छ । यसै अवसरमा बैंकका अन्य बचत खाताहरुमा २० हजार रुपैयाँको मेडिकल बीमा सुविधा प्रदान गर्ने छ । बैंकले सानिमा जीआईसी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीसँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ । विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ । र, आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिवद्धता जनाएको छ ।