ग्लोबल आइएमई बैंकले १६ वटा शाखा कार्यालयका स्थिर सम्पत्ति बेच्दै

काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो । विभिन्न स्थानहरुमा दोहोरीएका शाखा कार्यालयहरुमध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिईएको हुँदा नदोहारीएका १६ वटा कार्यालयहरुको सम्पत्ति बिक्री गरिने भएको हो । बैंकले उक्त शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु यथास्थितिमा बिक्री गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ संस्थाले ७ दिनभित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । साबिक बैंक अफ काठमाण्डूका भलुबाङ्ग दाङ्ग, टिकापुर कैलाली, तुलसीपुर दाङ्ग, न्यूरोड काठमाडौं, धरान सुनसरी, घोराही दाङ्ग, कालिकानगर रुपन्देही र बिर्तामोड झापा शाखा कार्यालयमा रहेका स्थिर सम्पत्ति बिक्री गरिने भएको हो । यस्तै, ग्लोबल आइएमई बैंकका साविक शाखा कार्यालयहरु तुल्सीपुर दाङ्ग, खैरेनी रुपन्देही, टिकापुर कैलाली, न्यूरोड काठमाडौं, तिनकुने काठमाडौं, चाबहिल काठमाडौं, सुदूरपश्चिम प्रदेश कार्यालय कैलाली र बिर्तामोड झापा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्री गरिने भएको हो ।

प्राइम बैंकले काठमाडौंसहित विभिन्न जिल्लामा ५ वटा कित्ता घरजग्गा बेच्दै

काठमाडौं । प्राइम कमर्सियल बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ््ग सम्पत्तिहरु घरजग्गा बिक्री गर्ने भएको हो । बैंकको नाममा मालपोत कार्यालय डिल्ली बजार काठमाडौंमा दर्ता कायम काठमाडौं महानगरपालिका १८ स्थित कित्ता नम्बर १५२३ को ०–११–०–० क्षेत्रफल भएको जग्गा र जग्गाले चर्चेको संरचना बिक्रीमा राखेको हो । यस्तै, मालपोत कार्यालय बेलौरी कञ्चनपुरमा दर्ता कायम पुनर्वास नगरपालिका १ स्थित कित्ता नम्बर ११८४, ११८५, ११८८ र ११८९ को क्रमशः ५९०, १२०५, ८०० र ३९२० वर्गमिटर क्षेत्रफलमा रहेका घरजग्गा बिक्री गर्ने बैंकले जनाएको छ । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

१० प्रतिशत ब्याजमा सिटिजन्स बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं । सिटिजन्स बैंकले आज असोज १७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो । सर्वसाधारणलाई बिक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।