काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले गत वर्ष साढे २ करोड रुपैयाँ बराबरको पारिश्रमिक तथा भत्ता बुझेका छन् । सिटिजन्स बैंकका सीईओ गणेश पोखरेल र माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला गरी दुई जना सीईओले गत एक वर्षमा आफू कार्यरत बैकबाट २ करोड ६९ लाख रुपैयाँ बराबर तलब भत्ता बुझेका हुन् ।
सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सिटिजन्स बैंकका सीईओ गणेश पोखरेलले गत आर्थिक वर्ष २०७९/८० मा १ करोड ९७ लाख ५८ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । सो रकमबाट सीईओ पोखरेलले ८२ लाख ६६ हजार रुपैयाँ आयकर तिरेको प्रतिवेदनमा उल्लेख छ । उनको गत वर्ष खुद पारिश्रमिक तथा भत्ता रकम १ करोड १४ लाख ९२ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ ।
बैंकका अन्य कार्यकारी पदाधिकारीहरुले भने गत वर्ष २ करोड ६२ लाख ६५ हजार रुपैयाँ खुद पारिश्रमिक तथा भत्तावापत बुझेका छन् ।
त्यस्तै, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकबाट गत एक वर्षमा १ करोड ५४ लाख ८१ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधावापत बुझेका छन् । बैंकले सार्वजकि गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका अनुसार उनले सो रकम बुझेका हुन् ।
साथै, बैंकले गत वर्ष नायव कार्यकारी अधिकृत, महाप्रबन्धक तथा प्रबन्धकहरुलाई १९ करोड ७९ लाख ६३ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधावापत प्रदान गरेको हो ।