अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १२७ डलर नाघ्यो, सुन पनि महँगियो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम र सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म एक वर्षको अवधिमा कच्चा पेट्रोलियमको मूल्य ८३.४ प्रतिशत र सुनको मूल्य १५.४ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा २०८२ भदौ मसान्तमा कच्चा पेट्रोलियमको मूल्य प्रतिव्यारेल ६९.६९ अमेरिकी डलर रहेको थियो । २०८३ भदौ मसान्तमा आइपुग्दा यसको मूल्य बढेर प्रतिव्यारेल १२७.८४ अमेरिकी डलर पुगेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि बढेको छ । २०८२ भदौ मसान्तमा प्रतिऔंस ३ हजार ६९५.४० अमेरिकी डलर रहेको सुनको मूल्य २०८३ भदौ मसान्तमा १५.४ प्रतिशतले बढेर ४ हजार २६३.५५ अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ । 

Share News