महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल प्रहरीलाई सहयोग गरेको छ । महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरिएको छ । बैंकको कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम, तथा नियन्त्रण कार्यमा सहयोग पुर्याउने उद्देश्यले जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर हस्तान्तरण गरेको हो । यसबाट मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैैंकले लिएको छ । प्रहरी वृत्त मालीगाँउका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवाकेन्द्र, कालोपुलका बरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

एभरेष्ट बैंकको २०.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंकको प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न बैंकको २९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०।५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश पाउने छन् ।

एभरेष्ट बैंकमा श्रेष्ठ परिवारको सेयर हावी, यी हुन् ८ ठूला लगानीकर्ता

काठमाडौं । एभरेष्ट बैंकमा भारतीय बैंक सहित ८ व्यक्ति तथा कम्पनीको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ८ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात् २ करोड १४ लाख २२ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, प्रतिमा श्रेष्ठको १४.७७ प्रतिशत अर्थात् १ करोड ५८ लाख ६ हजार १११ कित्ता सेयर स्वामित्व छ । प्रतिमा अध्यक्ष बिके श्रेष्ठकी छोरी हुन् । होटल स्नो लायनको ९.३१ प्रतिशत अर्थात् ९९ लाख ५४ हजार ३३६ कित्ता र बिष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात् ९८ लाख २१ हजार ५११ कित्ता सेयर स्वामित्व रहेको छ । एभरेष्ट बैंकमा श्रेष्ठ परिवारको सेयर स्वामित्व बढी छ । यस्तै, रवि कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् २० लाख १२ हजार ५८० कित्ता, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् २० लाख १२ हजार ५८० कित्ता, शान्त देव पाठकको १.१८ प्रतिशत अर्थात १२ लाख ५८ हजार ८२ कित्ता र अरुण मान शेरचनको ०.९५ प्रतिशत अर्थात् १० लाख ११ हजार ७२ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार सर्वसाधारण सेयरधनीहरुको ४०.८३ प्रतिशत अर्थात् ४ करोड ३६ लाख ८१ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ । जसअनुसार बैंकमा ८ जना संस्थापक सेयरधनीहरुको ५९.१७ प्रतिशत सेयर स्वामित्व रहेको देखिन्छ ।