काठमाडौं । महँगी उच्च रुपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको भदौसम्मको तथ्यांक अनुसार महँगी बढेर ८.१९ प्रतिशत पुगेको हो । साउनमा महँगी ७.५२ प्रतिशत थियो । पछिल्लो समय बजारमा महँगी बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
यस्तै, साउन महिनाको तुलनामा आयात र निर्यात दोब्बरले बढेको छ । गत साउनमा १३ अर्ब ५३ करोड रुपैयाँ रहेको निर्यात भदौमा बढेर २६ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा भने ३४.९ प्रतिशत कम हो । साउनको तुलनामा भने निर्यात ९५.४९ प्रतिशतले बढेको छ । निर्यात प्रतिशतमा धेरै बढेको देखिए आयातको तुलनामा भने न्युन हो ।
एक महिनाका अवधिमा आयात पनि दोब्बरले बढेको छ । भदौमा कुल वस्तु आयात २ खर्ब ५९ अर्ब ७५ करोड रुपैयाँको भएको छ । आर्थिक वर्ष २०८०÷८१ को दुई महिनामा कुल वस्तु आयात ५.१ प्रतिशतले कमी आएको हो । साउनको तुलनामा भने यो आयात दोब्बर हो । साउनमा कुल १ खर्ब २९ अर्ब २४ करोड रुपैयाँको आयात भएको थियो । साउनको तुलनामा भदौमा आयात १००.९८ प्रतिशतले बढेको देखिन्छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार व्यापार घाटा पनि बढ्दै गएको छ । गत साउनमा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ रहेको व्यापार घाटा भदौमा बढेर २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको दुई महिनाको अवधिका तुलनामा भने वस्तु व्यापार घाटा ४.७ प्रतिशतले कमी आएको हो । गत साउनको तुलनामा भने वस्तु व्यापार घाटा १०१.६२ प्रतिशत बढेको हो ।
यस्तै, भदौमा.२ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत साउनको तुलनामा ९६.८३ प्रतिशतले बढी हो । गत साउनमा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । समीक्षा अवधिमा भने विप्रेषण आप्रवाह २२.१ प्रतिशतले बढेको हो । भदौमा शोधान्तर स्थिती भने ५३ अर्ब ६१ करोड रुपैयाँ बचतमा छ । साउनमा यस्तो बचत ३२ अर्ब ९० करोड रुपैयाँमा थियो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा थियो ।
यस्तै, साउनको तुलनामा भदौमा विदेशी मुद्राको सञ्चिति भने घटेको छ । साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति बढेर १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । साउनको तुलनामा भदौमा विदेशी मुद्राको सञ्चिति केही बढेको छ ।
सरकारले यो अवधिमा खर्च पनि बढाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार भदौसम्म सरकारले कुल १ खर्ब ३१ अर्ब १४ करोड रुपैयाँ खर्च गरेको छ । गत साउनमा भने ३५ अर्ब ४ करोड रुपैयाँ खर्च भएको थियो । यस्तै, साउनमा ७८ अर्ब ८७ करोड रुपैयाँ रहेको राजश्व परिचालन भदौमा.१ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।