सानिमा बैंकको १४.७० प्रतिशत लाभांश पारित
काठमाडौं । सानिमा बैंकको प्रस्तावित १४.७० प्रतिशत लाभांश पारित भएको छ । बैंकको १९औँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक बर्ष २०७९/८० मा २.६१ अर्ब रूपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २१५.६४ अर्ब रूपैयाँ, कुल निक्षेप १७८.८५ रूपैयाँ अर्ब तथा खुद कर्जा सापटी १४९.८७ रूपैयाँ अर्ब रहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले बृद्धि गरेको छ ।
एभरेष्ट बैंकले मनायो २९ औं वार्षिकोत्सव
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बैंकका २ सयभन्दा बढी कर्मचारीहरूकाबीच सम्पन्न उक्त कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोपिला भ्याली सेवा समाज सुर्खेतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक केशव प्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रंजितको समेत उपस्थिति रहेको थियो । पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् । देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
मर्ज भएका बैंकहरुको नाफा एक अर्बभन्दा बढी, कूल नाफाको ५२ प्रतिशत हिस्सा
काठमाडौं । पछिल्लो समय दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भए । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै मर्जरका लागि राष्ट्र बैंकले जोड दियो । जसको कारण गत वर्ष १४ वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा सामेल भएर ७ बैंकमा सीमित भए । नबिल र नेपाल बङ्गलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन र सिभिल बैंक, प्रभु र सेञ्चुरी बैंक, कुमारी र एनसीसी बैंक, लक्ष्मी र सनराइज बैंकबीच मर्जर तथा एक्विजिशन सम्पन्न भयो । मर्जर पश्चात् अधिकांश बैंकहरुले बिजनेश ग्रोथमा फड्को मारेको देखिन्छ । यद्यपी मर्जरमा सामेल भएका केही बैंकहरुको भने खासै सिनर्जी नआएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले साउन र भदौमा १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका हुन् । जसमध्ये मर्जरमा सामेल भएका ७ बैंकले भने २ महिनाको अवधिमा साढे ८ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार मर्जर भएका ७ बैंकले ८ अर्ब ६६ करोड ३० लाख रुपैयाँ बराबरको नाफा गरेका हुन् । जुन कूल नाफाको ५२ प्रतिशत हिस्सा हुन आउँछ । साथै, दुई महिनाको अवधिमा १ अर्बभन्दा बढी नाफा गर्ने बैंकहरु पनि मर्जरमा सामेल भएका संस्था नै छन् । ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी बैंकले एक अर्बभन्दा नाफा गरेका हुन् । भदौसम्म सबैभन्दा बढी नाफा गर्ने बैंक ग्लोबल आइएमई बनेको छ । यस बैंकले सबैभन्दा बढी १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको छ । यस्तै, नबिल बैंकले भदौमा १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्याङ्क छ । यस्तै, नेपाल इनभेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख रुपैयाँ, कुमारीले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख रुपैयाँ र प्रभु बैंकले ६६ करोड ४१ लाख रुपैयाँ बराबर खुद नाफा गरेका छन् ।