नबिल बैंकले घोषणा गर्याे लाभांश, २ दशकयताकै न्यून

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले गत वर्षको नाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश हालसम्मकै न्यून हो । यसअघि आर्थिक वर्ष २०७८/७९मा १८.५ प्रतिशत बोनस सेयर ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी, को हुन् उनी ?

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष केसी यसअघि सञ्चालक समिति सदस्य थिए । संस्थापक सेयरधनी डा.उपेन्द्र महतोले अध्यक्ष पदबाट राजीनामा दिएपछि केसी अध्यक्ष बनेका हुन् । साथै, डा. महतो बैंकमा संलग्न नरहेको कम्पनी सचिव सुभाष जमरकटेलले जानकारी दिए । अध्यक्ष केसी पोखराका युवा व्यवसायी हुन् । उनले स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका छन् । उनी हाइड्रो व्यवसायी हुन् । पोखरा बचत तथा ऋण सहकारी लिमिटेड, भगवती हाइड्रोपावर र सिक्लेस हाइड्रोपावर, गण्डकी हाइड्रोपावर डेभलपमेन्टमा सञ्चालक भएर काम गरेको अनुभव उनीसँग छ । साथै, उनले के.सी. कन्स्ट्रक्सन प्रा.लि. सञ्चालन गरिरहेका छन् । उनको स्थायी घर महानगरपालिका ७ मुस्ताङ्गचोक हो ।

बैंकमा बढ्दै गइरहेको एनपीएलले चिन्ता बढिरहेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको खराब कर्जा (एनपीएल)ले बैंकहरूलाई चिन्ता थपेको बताएका छन् । बिहीबार कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढ्दै जाँदा त्यसले बैंकरमा एक किसिमको तनाव सिर्जना गरेको बताएका हुन् । उनले वर्तमान अर्थतन्त्रको सुधारका लागि राष्ट्र बैंक र सरकारले हातेमालो गर्नु पर्ने बताए । सरकारले आयोजना गरेको सर्वपक्षीय कार्यक्रममा गर्भनर र अर्थमन्त्रीले पेश गरेको तथ्यांक सकारात्मक थियो । तर, ठ्याक्कै त्यस्तो भने छैन, बैंकिङ क्षेत्रमा एनपीएल बढिरहेको छ, यसले चिन्ता बढाएको छ,’ उनले भने । उनका अनुसार पछिल्लो समय अर्थतन्त्र केही सकारात्मक पनि हुँदै गएको छ । ‘विदेशी मुद्राको रिजर्भ, रेमिट्यान्स र पर्यटन क्षेत्र राम्रो छ, तर अझै समस्या छ, राष्ट्र बैंक र सरकारको तर्फबाट समस्या नआउने गरी काम गर्नु पर्छ, पब्लिकमा कन्फिडेन्स आउने गरी काम गर्नुपर्छ,’ उनले भने । यस्तै, उनले विगतमा सहज हिसाबले ऋण दिने र लिने काम भएपनि त्यसमा निजी क्षेत्रको कुनै भूमिका नरहेको बताए । उनका अनुसार अहिले कुल राजस्वमा निजी क्षेत्रको योगदान ८० प्रतिशत छ । उनले आयकर र मूल्य अभिवृदी करमा सुधार आवश्यक रहेको पनि बताए । निजि क्षेत्रका करदातालाई सम्मान गर्ने कार्यक्रमले कर तिरेपछि सम्मान पाइँदो रहेछ भन्ने महसुस व्यवसायीमा परेको उनको भनाइ छ ।