माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न २८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ३ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले बैंकको अध्यक्षमा रोशन केसीलाई पुनः नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महतो निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन् ।

सभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ । बोनस सेयर वितरणपछि बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । अग्राधिकार सेयरसमेत जोड्दा बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । उक्त अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम भएको थियो ।

पोखरामा सम्पन्न साधारणसभामा बैंकका संस्थापक तथा सर्वसाधारण सेयरधनीको उल्लेख्य सहभागिता रहेको थियो । 

Share News