भूकम्पपीडितका लागि सिन्धु विकास बैंकद्वारा आर्थिक सहयोग प्रदान

काठमाडौं । सिन्धु विकास बैंकले जाजरकोटका भूकम्प पीडितलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंककले पीडितको खोज उद्धार तथा राहत कार्यमा सहयोगस्वरूप बैंकका सम्पूर्ण कर्मचारीहरूको एक दिनको तलब भत्ताबराबरको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत हस्तान्तरण गरेको हो । साथै, विगतमा पनि सिन्धु विकास बैंकले यस किसिमका राष्ट्रिय विपत्तिमा सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि यस्ता सहयोग जारी रहने बंैकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले जानकारीे दिए ।

ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल

काठमाडौं । ज्योति विकास बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी कपिल ढकालले पाएका छन् । बैंक सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । साथै, सञ्चालक समितिले बैंकका सीईओ श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गरेको छ । अर्काे व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी ढकाललाई दिईएको कम्पनी सचिव बलदेव थापाले जानकारी दिए ।

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद दोब्बर

काठमाडौं । नेपाल एसबिआई बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।