सिद्धार्थ बैंकको साढे ५ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे ५ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार ५६३ कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को ९५ हजार १० कित्ता गरी ५ लाख ४९ हजार ५७२ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा इच्छुक जोकोही लगानीकर्ताहरुले आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुकले ७ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ ।
महालक्ष्मी विकास बैंकले काठमाडौंसहित १६ जिल्लाका ९१ ठाउँको घरजग्गा बेच्दै
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा देशभरका विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्ने भएको छ । बैंकले देशभरिका झण्डै १ सय स्थानमा रहेको आफ्नो स्वामित्वको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले बुधबार सूचना प्रकाशन गर्दै आफ्नो नाममा रहेको ९१ स्थानको गैर–बैकिङ्ग सम्पत्ति लिलामीमा बिक्री गर्न लागेको जनाएको हो । बैंकले विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्नका लागि १५ दिने शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकको नाममा दर्ता रहेको गैर–बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छन् सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ । उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी र संघ संस्थाहरुले विभिन्न शर्तहरुको अधिनमा रही सूचना प्रकाशित भएको मितिले १५ भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका २६ जिल्लाको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले नवलपरासी, सर्लाही, मोरङ्ग, झापा, सुनसरी, तनहुँ, बर्दिया, कैलाली, बाँके, धादिङ्ग, चितवन, बाजुरा, रूकुम पश्चिम, डडेल्धुरा, काठमाण्डौंका विभिन्न स्थानमा रहेको घरजग्गा बिक्री गर्ने भएको छ ।
आजसम्म यी २ कम्पनीको सेयर खरिद गर्यो भने लाभांश पाइने
काठमाडौं । बुधबार विभिन्न २ संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर ६ गते अन्तिम दिन हो । यी २ संस्थाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ मंसिर ७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा आजसम्म सेयर खरिद गर्नेले यी २ संस्थाको लाभांश प्राप्त गर्नेछन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको कर प्रयोजन सहित १९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले ३७औं वार्षिक साधारणसभा मंसिर २४ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा दिउसो ३ बजे बोलाएको छ । यस्तै, आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ८।६० प्रतिशत बोनस सेयर र ०।४५ प्रतिशत नगद गरी कूल ९।०५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । लघुवित्तले मंसिर १५ गते १०औं वार्षिक साधारणसभा डोकेको छ ।