राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २० करोडको ऋणपत्र खुल्यो, ६ प्रतिशत ब्याज पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने गरी निष्कासन गरेको ‘६% आरबिबिएल डिबेन्चर २०८९’ मा असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । कुल निष्कासित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख इकाई बराबरको १ अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तवरबाट बिक्रीका लागि छुट्याइएको छ । बाँकी ४० प्रतिशत अर्थात् १२ लाख इकाई बराबरको १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि खुला गरिएको हो ।

सात वर्ष अवधि रहेको यस ऋणपत्रमा लगानीकर्ताले कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक १२ गतेसम्म लम्बिन सक्ने बैंकले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम निष्कासित सबै इकाईका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको छ । बैंकका अनुसार देशभर ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत ४९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले निक्षेप तथा कर्जाका साथै एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 

Share News