एभरेष्ट बैंकद्वारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम सञ्चालन
रुपन्देही । विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा बैंकको एटिएमकाे उद्घाटन गरेको छ । एटिएमकाे उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा गरेका हुन् । यो संगै बैंकको एटिएम्को संख्या १६३ पुगेको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले उक्त एटिएम सेवा विस्तार सँगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारीहरु तथा मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानिय बासन्दालाई सो सेवाले थप सहज र सरल हुने कुरा व्यक्त गरे । त्यस्तै, मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्रङगणमा एटिएम सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै घन्यवाद ज्ञापन गरेका थिए । साथै सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ । बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुव प्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराएका थिए । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल शाखाका प्रबन्धक नविन पण्डित क्षेत्री र मिल्सका तर्फबाट अंकुर न्यौपानेको समेत उपस्थिति रहेको थियो ।
गरिमा विकास बैंक १७औं वर्षमा प्रवेश
काठमाडौं । गरिमा विकास बैंकले स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएकाे छ । पछिल्लो समयमा प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब ६८ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पुर्याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर प्रगति गर्न सफल भएको छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको जनाएको छ ।
ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो । आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गरेका छन् । ग्लोबल आइएमई बैंक विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ । आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै कार्यसम्पादन गर्दै आईरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ्ग सेवा तथा सुविधाको पहुच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।