काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको खराब कर्जा (एनपीएल)ले बैंकहरूलाई चिन्ता थपेको बताएका छन् । बिहीबार कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढ्दै जाँदा त्यसले बैंकरमा एक किसिमको तनाव सिर्जना गरेको बताएका हुन् ।
उनले वर्तमान अर्थतन्त्रको सुधारका लागि राष्ट्र बैंक र सरकारले हातेमालो गर्नु पर्ने बताए । सरकारले आयोजना गरेको सर्वपक्षीय कार्यक्रममा गर्भनर र अर्थमन्त्रीले पेश गरेको तथ्यांक सकारात्मक थियो । तर, ठ्याक्कै त्यस्तो भने छैन, बैंकिङ क्षेत्रमा एनपीएल बढिरहेको छ, यसले चिन्ता बढाएको छ,’ उनले भने ।
उनका अनुसार पछिल्लो समय अर्थतन्त्र केही सकारात्मक पनि हुँदै गएको छ । ‘विदेशी मुद्राको रिजर्भ, रेमिट्यान्स र पर्यटन क्षेत्र राम्रो छ, तर अझै समस्या छ, राष्ट्र बैंक र सरकारको तर्फबाट समस्या नआउने गरी काम गर्नु पर्छ, पब्लिकमा कन्फिडेन्स आउने गरी काम गर्नुपर्छ,’ उनले भने ।
यस्तै, उनले विगतमा सहज हिसाबले ऋण दिने र लिने काम भएपनि त्यसमा निजी क्षेत्रको कुनै भूमिका नरहेको बताए । उनका अनुसार अहिले कुल राजस्वमा निजी क्षेत्रको योगदान ८० प्रतिशत छ । उनले आयकर र मूल्य अभिवृदी करमा सुधार आवश्यक रहेको पनि बताए ।
निजि क्षेत्रका करदातालाई सम्मान गर्ने कार्यक्रमले कर तिरेपछि सम्मान पाइँदो रहेछ भन्ने महसुस व्यवसायीमा परेको उनको भनाइ छ ।