एनएमबी बैंकले सुरु गर्‍यो ‘लुप क्रेडिट’ र किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा

काठमाडौं । एनएमबी बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँगको सहकार्यमा ‘लुप’ नेटवर्कमार्फत खरिद कर्जा र मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा सुरु गरेको छ ।

यसका लागि तीनवटै संस्थाबीच त्रिपक्षीय सम्झौता भएको बैंकले जनाएको छ । सम्झौताअनुसार एनएमबी बैंक ‘लुप’ नेटवर्कमा कर्जा उपलब्ध गराउने बैंकका रूपमा आबद्ध भएको छ । यसबाट बैंकका ग्राहकले डिजिटल माध्यमबाट खरिद कर्जा तथा किस्ताबन्दीको सुविधा लिन सक्नेछन् ।

यो सुविधा सुरु भएसँगै एनएमबी बैंकका ग्राहकले ‘लुप’ नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थाबाट सामान खरिद गर्दा तत्काल खरिद कर्जा अर्थात् ‘लुप क्रेडिट’ लिन सक्नेछन् ।

त्यस्तै, ग्राहकले आफ्नो एनएमबी बैंकको डेबिट कार्ड वा क्यूआरमार्फत गरेको भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सक्नेछन् । ‘लुप ईएमआई’ नाम दिइएको यस सुविधाले ग्राहकलाई सामान खरिद गर्न, बजेट व्यवस्थापन गर्न र भुक्तानीलाई सहज बनाउन सहयोग गर्ने बैंकको विश्वास छ ।

डिजिटल माध्यमबाट खरिद कर्जा र किस्ताबन्दीको सुविधा उपलब्ध हुँदा ग्राहकले आवश्यक सामान खरिद गर्दा वित्तीय पहुँच सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

Share News