मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन धादिङको गल्छीमा रहेको ‘त्रिशूली बीच रिर्सोट’सँग विभिन्न व्यावसायिक सम्झौता गरेको छ । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले यस रिर्सोटमा बसाइँ तथा खानामा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड/प्रिभलेज कार्ड पेश गर्नुपर्ने बैंकले जनाएकाे छ । साथै बैंकको मोबाइल/ईन्टरनेट बैंकिङद्वारा भुक्तानी गर्नु पर्नेछ । बैंकले नेपालमै टिक्न सजिलो छ भन्ने नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू पनि ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्थासमेत गरेको छ ।
बैंकहरूको कार्यालय खर्च ३७ अर्ब, मर्ज भएका बैंकलाई साइनबोर्ड र स्टेशनरीको भार
काठमाडौं । बैंकहरू मर्ज हुँदा बैंकरहरूले भन्थे ‘बैंकको लागत घट्छ, प्रशासनिक खर्च घट्छ, शाखा कार्यालय घट्छन्’ । संस्थालाई बलियो बनाउन र लागत घटाएर स्वस्थ प्रतिस्पर्धामा जोड दिन बैंकहरूलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले मर्जर नीति ल्यायो । सोहीअनुरूप पछिल्लो समय एक दर्जन बैंकहरू मर्जरमा सामेल भए । तर, मर्जरपछिको तथ्यांक हेर्ने हो भने बैंकहरूको लागत दोब्बर वृद्धि भएको देखिन्छ । बैंकरहरूको भनाइविपरीत गत वर्ष बैंकहरूको कार्यालय सञ्चालन खर्च झण्डै १५ प्रतिशत बढेको देखिन्छ । हुन त अधिकांश बैंकको कार्यालय सञ्चालन खर्च बढेको छ । तर, मर्जरमा सामेल भएका बैंकको कार्यालय सञ्चालन खर्चमा भने धेरै वृद्धि भएको देखिन्छ । गत वर्ष बैंकहरूको कार्यालय सञ्चालन खर्च १४.८८ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड रुपैयाँ बढेको देखिन्छ । बैंकको कार्यालय सञ्चालन खर्चमा विज्ञापन, बिजुली, घरभाडा, स्टेशनरी, पानी, टेलिफोन, मसलन्द खर्चलगायतका हिसाब जोडिन्छन् । गत वर्ष बैंकहरूले कार्यालय सञ्चालनमा ३७ अर्ब ६ करोड रुपैयाँ बढी खर्च गरेका हुन् । जबकि अघिल्लो वर्ष ३२ अर्ब २६ करोड रुपैयाँ कार्यालय सञ्चालन गर्न खर्च गरेका थिए । समीक्षा अवधिमा सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको कार्यालय सञ्चालन खर्च बढेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा बैंकको कार्यालय सञ्चालन खर्च १३६.४५ प्रतिशत अर्थात् १ अर्ब ४२ करोड रुपैयाँ बढेर २ अर्ब ४७ करोड रुपैयाँ पुगेकाे हो । यस्तै, हिमालयन बैंकको ३३.६१ प्रतिशत अर्थात् ५७ करोड ९० लाख रुपैयाँ बढेर २ अर्ब ३० करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २२.१० प्रतिशत अर्थात् ४५ करोड रुपैयाँ बढेर २ अर्ब ५१ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको २१.४४ प्रतिशत अर्थात् ५७ करोड ६ लाख रुपैयाँ बढेर ३ अर्ब २३ करोड रुपैयाँ, कुमारी बैंकको १७.८८ प्रतिशत अर्थात् २९ करोड २५ लाख रुपैयाँ १ अर्ब ९२ करोड रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेका छन् । हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खाली मर्जरपछि बैंकको नाम परिवर्तनदेखि साइन बोर्डसमेत परिवर्तन गर्नुपर्ने भएकाले खर्च बढेको हुनसक्ने बताउँछन् । साथै स्टेशनरी सामान र बैंकको ब्राण्डिङमा समेत ठूलो खर्च हुने गरेको उनको भनाइ छ । ‘मर्ज भएको पहिलो वर्ष खर्च बढेको देखिनु स्वाभाविक हो । किनभने बैंकको ब्राण्डिङ गर्नुपर्ने हुन्छ । जस्तो साइनबोर्ड, स्टेशनरीमा नाम परिवर्तन गर्नुपर्ने हुन्छ, विज्ञापन गर्नुपर्ने भएकाले बैंकको कार्यालय सञ्चालन खर्च बढेको हो । बैंकको ब्राण्डिङमा पनि ठूलो रकम खर्च हुने गरेको छ,’ सहायक प्रमुख कार्यकारी अधिकृत गाेर्खालीले भने, ‘तर, पछिल्ला वर्षहरूमा भने विस्तारै घट्दै जानेछ ।’ एभरेष्ट बैंकको १४.२४ प्रतिशत अर्थात् १७ करोड ७९ लाख रुपैयाँ बढेर १ अर्ब ४२ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १३.८८ प्रतिशत अर्थात् २३ करोड ७५ लाख रुपैयाँ बढेर १ अर्ब ९४ करोड रुपैयाँ, प्रभु बैंकको १३.१६ प्रतिशत अर्थात् २९ करोड ३ लाख रुपैयाँ बढेर २ अर्ब ४९ करोड रुपैयाँ, नबिल बैंकको १३.०७ प्रतिशत अर्थात् २७ करोड २३ लाख रुपैयाँ बढेर २ अर्ब ३५ करोड रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेका हुन् । सिद्धार्थ बैंकको ९.९८ प्रतिशत अर्थात् १७ करोड २७ लाख रुपैयाँ बढेर १ अर्ब ९० करोड रुपैयाँ, एनएमबी बैंकको ६.९२ प्रतिशत अर्थात् १० करोड २३ लाख रुपैयाँ बढेर १ अर्ब ५८ करोड रुपैयाँ, सिटिजन्स बैंकको ६.६५ प्रतिशत अर्थात् ७ करोड ९६ लाख रुपैयाँ बढेर १ अर्ब २९ करोड रुपैयाँ, प्राइम बैंकको ६.०६ प्रतिशत अर्थात् ६ करोड २३ लाख रुपैयाँ बढेर १ अर्ब ९ करोड रुपैयाँ, नेपाल बैंकको ४.९१ प्रतिशत अर्थात् ६ करोड ८० लाख रुपैयाँ बढेर १ अर्ब ४५ करोड रुपैयाँ, कृषि विकास बैंकको ४.८३ प्रतिशत अर्थात् ८ करोड ५३ लाख रुपैयाँ बढेर १ अर्ब ८५ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको २.४६ प्रतिशत अर्थात् २ करोड ९७ लाख रुपैयाँ बढेर १ अर्ब २३ करोड रुपैयाँ कार्यालय सञ्चालनमा खर्च भएकाे छ । तर, अघिल्लो वर्षको तुलनामा विभिन्न ४ वटा बैंकको कार्यालय सञ्चालन खर्च भने घटेको देखिन्छ । नेपाल एसबीआई बैंकको ३.३५ प्रतिशत अर्थात् ३ करोड ५५ लाख रुपैयाँ घटेर १ अर्ब २ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको १.६१ प्रतिशत अर्थात् ४ करोड ७० लाख रुपैयाँ घटेर २ अर्ब ८७ करोड रुपैयाँ, सानिमा बैंकको १.०५ प्रतिशत अर्थात् १ करोड ४६ लाख रुपैयाँ घटेर १ अर्ब ३७ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.९८ प्रतिशत अर्थात् ६९ लाख रुपैयाँ घटेर ७० करोड २९ लाख रुपैयाँ खर्च गरेका हुन् । पूर्वबैंकर रोबिन नेपाल बैंकको सबैभन्दा ठूलो लागत कर्मचारीमा जाने र कर्मचारीलाई बढीभन्दा बढी परिचालन गरेपछि मात्रै लागत घट्न सक्ने बताउँछन् । एउटै ठाउँमा भएका शाखा कार्यालय गाभिएपनि कर्मचारी संख्या नटाउँदा लागत बढ्न पुगेको उनको भनाइ छ । उनका अनुसार बैंकको लागत उठाउन जनशक्ति परिचालनमा जोड दिनुपर्छ । ‘बैंकको लागत सबैभन्दा धेरै जनशक्तिमा खर्च हुन्छ, जबसम्म बैंकको कर्मचारी घटाउन सकिँदैन तबसम्म बैंकको लागत घटाउन सकिँदैन,’ उनले भने, ‘मर्ज भएपछि एउटै ठाउँका शाखा कार्यालय गाभिएपनि कर्मचारी भने सबैलाई राख्दा त्यसको औचित्य भएन, त्यसकारण पनि लागत घट्न नसकेको हो ।’
सानिमा बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकटमा ५०० सम्म छुट पाउने
काठमाडौं । सानिमा बैंक र श्री एयरलाइन्सबीच सम्झाैता भएकाे छ । सम्झाैताअनुसार सानिमा बैंकका ग्राहकहरूले श्री एयरलाइन्सको टिकटमा ५ सय रुपैयाँसम्मकाे छुट पाउनेछन् । ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा क्युआरमार्फत मोबाइल बैंकिङ सेवाबाट श्री एयरलाइन्सकाे टिकट काट्दा ५ सय रुपैयाँसम्म छुट हुने बैंकले जनाएकाे छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न बैंक र श्री एयरलाइन्सबीच यस्ताे सम्झाैता भएकाे हाे । त्यसैगरी, बैंकले ग्राहकहरूलाई प्रोत्साहन गर्न विभिन्न छुट तथा अफर प्रदान गर्दै आएको छ । बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers। मा अफर विवरणबारे जानकारी राखिएकाे सानिमा बैंकले जनाएकाे छ । सानिमा बैंकले ७ वटै जिल्लाका १३३ कार्यालय र १२४ एटीएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।