काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बिहीबार (आज) सम्पन्न साधारण सभाले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले हाल कायम चुक्ता पुँजीको ६.५२६३ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकका अनुसार ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा चुक्ता पुँजीको ६.५२६३ प्रतिशत अर्थात् २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा नगद लाभांश (करसहित) वितरण गरिनेछ ।
यस्तै, ४ प्रतिशत अर्थात १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर वितरण गरिने बैंकले जनाएको छ ।
बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ ।
त्यस्तै, साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको छ ।
संस्थापक सेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा तथा सर्वसाधारण शेयरधनीका तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा चयन भएका छन् ।
नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ ।
बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।