महिला चिकित्सकलाई वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान अभिवृद्धि गर्न साक्षरता कार्यक्रम

काठमाडौं । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघले महिला चिकित्सकका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल चिकित्सक संघको आयोजनामा बिहीबार सम्पन्न भएको कार्यक्रममा ६० भन्दा बढी महिला चिकित्सकको सहभागिता थियो । 

कार्यक्रममा वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षकहरूले प्रस्तुतीकरण, अन्तरक्रिया तथा व्यावहारिक सहजीकरणमार्फत सहभागी चिकित्सकलाई वित्तीय व्यवस्थापनका विभिन्न पक्षबारे जानकारी दिएका थिए ।

कार्यक्रमको सुरुवात गर्दै डा. सुजिता हिराचनले चिकित्सकका लागि वित्तीय व्यवस्थापन, बजेट निर्धारण तथा कर व्यवस्थापनको आवश्यकता र महत्त्वबारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी विषयमा डा. अनुपमा सङ्ग्रौला तथा कामना सेवा विकास बैंकका डिजिटल अपरेसन विभाग प्रमुख जिनुसा पलिखे श्रेष्ठ र कर्जा अधिकृत सूर्यकान्त न्यौपानेले सहजीकरण गरेका थिए । 

उनीहरूले व्यक्तिगत वित्तीय योजना, बजेट निर्माण, बचत, लगानी, कर व्यवस्थापन तथा दीर्घकालीन वित्तीय सुरक्षालगायत विषयमा व्यावहारिक जानकारी दिएका थिए ।

कार्यक्रममा अध्यक्ष डा. रिजालले चिकित्सकले आफ्नो पेसासँगै वित्तीय व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए । उनले चिकित्सकको व्यावसायिक जीवनसँगै व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाका लागि वित्तीय ज्ञान र व्यवस्थित वित्तीय योजना महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा कामना सेवा विकास बैंकसहित सम्बन्धित सबै पक्षलाई उनले धन्यवाद दिए ।

कार्यक्रम संयोजक डा. निशा आचार्यले महिला चिकित्सकका लागि वित्तीय साक्षरता महत्त्वपूर्ण र आवश्यक विषय भएकाले यस्ता कार्यक्रमले आर्थिक निर्णय क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताइन् ।

महिला चिकित्सकको व्यावसायिक विकाससँगै आर्थिक सशक्तीकरण र वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले सहभागीलाई आम्दानीको उचित व्यवस्थापन, भविष्यका लागि वित्तीय योजना निर्माण तथा आर्थिक निर्णय लिन थप सक्षम बनाउने बैंकले विश्वास व्यक्त गरेको छ ।

कामना सेवा विकास बैंकले वित्तीय पहुँच, वित्तीय साक्षरता तथा वित्तीय समावेशीकरण अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । 

आगामी दिनमा पनि नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ ।

Share News