खाद्य कम्पनीका कर्मचारीले वाणिज्य बैंकबाट सस्तो ब्याजमा कर्जा पाउने, सीमा १५ लाख
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सम्झाैता भएकाे छ । कम्पनीका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरे । उक्त सम्झौताअनुसार कम्पनीमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई कम्पनीकोे सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ६.६६ प्रतिशत रहेको छ । सम्झौताअनुसार कम्पनीका कर्मचारीहरूको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्झाैतापश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ । उक्त अवसरमा कम्पनीका विभागीय प्रमुखहरू डिल्लीराज लम्साल, घनश्याम अर्याल, अधिकृत रामसफल साह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाल लोहनी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, रामकुमार थापा, विभागीय प्रमुख आनन्द सुवेदी, उपप्रमुख दिनेश न्यौपाने, शाखा कार्यालय थापाथलीका शाखा प्रबन्धक विक्रममान श्रेष्ठलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।
लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो एभरेष्ट, यस्तो छ लाभांश इतिहास
काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ २१ गते बसेकको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ । लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूमा एभरेष्ट पहिलो बैंक बनेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव सुरेश चापागाईं बताउँछन् । यस्तो छ बैंकको लाभांश इतिहास बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकले आर्थिक वर्ष २०७८/७९मा बैंकले सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद गरी कूल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरि कूल २५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा २० प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७३/७४ मा ३३ प्रतिशत बोनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसैगरी बैंकले आर्थिक वर्ष २०७२/७३ मा ७० प्रतिशत बोनस र ३.६७५ प्रतिशत नगद गरि कूल ७३.६७५ प्रतिशत लाभांश, आर्थिक वर्ष २०७१/७२ मा ३० प्रतिशत बोनस र ६.५७ प्रतिशत नगद गरि कूल ३६.५७ प्रतिशत लाभांश र आर्थिक वर्ष २०७०/७१ मा १२ प्रतिशत बोनस र ५० प्रतिशत नगद गरि कूल ६२ प्रतिशत लाभांश वितरण गरेको थियो । यसैगरी आर्थिक वर्ष २०६९/७० मा १० प्रतिशत बोनस सेयर र ५०.५३ प्रतिशत नगद गरि कूल ६०.५३ प्रतिशत लाभांश, आर्थिक वर्ष २०६८/६९ मा ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश र आर्थिक वर्ष २०६७/६८ मा १० प्रतिशत बोनस र ५० प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो ।
ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो विशेष योजना, खाता खोल्दा ५ वटा फाइदा एकसाथ
काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ खाता खोल्दा नियमित सुविधाहरूसहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको हाे । यस योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरू सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ । ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा विक्रि) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनको लागि मेरो शेयर, आइपीओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटिजमा शेयर बजारमा शेयर खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन् । यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकताअनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ । यी सेवाहरू बैकको ३५४ वटा शाखा कार्यालयबाट उपलब्ध हुने बैंकले जनाएकाे छ । बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरहेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिनेछ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।