पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले युनाइटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल) मा उपलब्ध प्रयोगशाला परीक्षण सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यससम्बन्धमा ग्रीन डेभलपमेन्ट बैंक र यूआरएल प्रालिबीच सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले प्रयोगशाला परीक्षण सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै, बैंकका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
यो सुविधा कास्कीको शिशुवा, हस्पिटलचोक, खुदी, बिरौटा र लेकसाइड, लमजुङको बेँसीसहर र सुन्दरबजार, स्याङ्जाको पुतलीबजार र वालिङ तथा तनहुँको दुलेगौँडा, बेलचौतारा र दमौलीस्थित यूआरएलका शाखाबाट लिन सकिनेछ । त्यसैगरी बागलुङ र नवलपुरको कावासोतीस्थित शाखाबाट पनि यो सुविधा उपलब्ध हुनेछ ।
सम्झौतापत्रमा ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र यूआरएल प्रालिका अध्यक्ष ठाकुरप्रसाद पन्थले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताबाट बैंकका ग्राहक तथा कर्मचारीले प्रयोगशाला परीक्षण सेवा सहुलियत दरमा प्राप्त गर्न सक्नेछन् ।