अब खराब कर्जा व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी खोलिने, डिजिटल बैंक पनि स्थापना हुने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन गर्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने बताएका छन् । राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् । यस्तै, उनले डिजिटल बैंक स्थापना गरिने पनि बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले बिक्रीमा राख्यो १ अर्ब बढीको घरजग्गा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब बढीको घरजग्गा (धितो) बिक्रीमा राखेको छ । बैंकले मंगतुराम समूहको नाममा रहेको १ अर्ब ४ करोड ५५ लाख ७६ हजार ९६० रुपैयाँको घरजग्गा बिक्रीमा राखेको हो । बैंकको तत्कालीन शाखा कार्यालय रानी (गाभिई हाल शाखा कार्यालय विराटनगर)बाट कर्जा लिने मंगतुराम समूहलाई ऋण प्रवाह गरेको थियो । बैंकका अनुसार एओसी, टिएल, बिल्स पर्चेज, क्यास क्रेडिट, औधोगिक मालसामान, बैंक जमानत र अन्य कर्जा शिर्षकमा ९ वटा कम्पनीलाई ऋण प्रवा गरेको थियो । बैंकले अन्नपुर्ण सोप एण्ड केमिकल ईण्डष्ट्रिज प्रालि, नारायण भेजिटेवल ईण्डष्ट्रिज प्रालि, गणेश प्लाष्टिक ईण्डष्ट्रिज प्रालि, जयकाली बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि, दन्तकाली प्याकेजिङ ईण्डष्ट्रिज, लक्ष्मी फुटवेयर ईण्डष्ट्रिज प्रालि, अन्नपुर्ण आईरन ईण्डष्ट्रिज प्रालि, घटस्थापना ईण्टरप्राईजेज र फुलपाती ईण्टरप्राईजेजलाई ऋण प्रवाह गरेका थियो । तर, यी कम्पनीहरूले समयमा कर्जाको साँवा र ब्याज चुक्ता नगरेपछि बैंकले धितो लिलामीमा राखेको हो । बैंकले मंगतुराम समूहलाई ३५ दिनभित्र साँवा, ब्याज र अन्य दस्तुर समेत चुक्ता गरी धितो सम्पत्ति फुकुवा गरेर लैजान आग्रह गरेको छ । यदि ३५ दिनभित्र ऋणीले बक्यौता नतिरेमा धितो सम्पत्ति लिलामीमा बिक्री गर्ने जनाएको छ ।
गभर्नर नियुक्तिको सहमति गर्न ओली-देउवाको अन्तिम भेट, राष्ट्र बैंकले अब छिट्टै नयाँ गभर्नर पाउँदै
काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच नियमति भेटघाट तथा छलफल हुन थालेको छ । विगतमा कुनै सहमति तथा सम्झौता गर्नुपरेमा एक भेटमै काम फत्ते गर्ने देउवा यस पटक भने प्रधानमन्त्री ओलीसँग बाराम्बार छलफल गरे । उनले यस पटक ओलीसँग भेटघाटलाई बढावा दिनुकै एउटै कारण हो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति । उनले प्रधानमन्त्री ओलीसँग जसरी भए पनि गभर्नर नेपाली काँग्रेसको भागमा पर्नुपर्ने अडान राखेका छन् । यसअघि नै ओली र देउवाबीच गभर्नर नियुक्तिको लागि सहमति भइसकेको विषय बाहिर आएको थियो । उनीहरुबीच गभर्नर नेपाली काँग्रेसले पाउने सहमति भएको विषयले पनि चर्चा पाएको थियो । नेपाली काँग्रेसको भागमा गभर्नर परेपछि डा. गुणाकर भट्ट नै गभभर्नर बन्ने चर्चा भएको थियो । देउवाले भट्टको नाम ओलीसँग राखेपछि ओली पनि त्यसमा सहमत भएका थिए । दुई नेताको सहमतिपछि डा. भट्टले पनि कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । त्यसपछि उनको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । तर, बुधबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले उक्त पूरक निवेदनलाई अस्वीकार गरेको थियो । त्यससँगै डा. भट्टको गभर्नर बन्न सक्ने बाटो पनि खुल्ला भएको छ । अदालतको उक्त निर्णयसँगै प्रधानमन्त्री ओली र सभापति देउवाबीच आज पनि भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच अहिले छलफल भइरहेको बुझिएको छ । उनीहरुको यो भेट भोलिको नीति तथा कार्यक्रम, गभर्नर नियुक्ति र समसामयिक राजनीतिक विषयमा केन्द्रित भएको नेपाली काँग्रेसनका एक नेताले जानकारी दिए । सम्भवतः गभर्नरको विषयमा दुई नेताबीच सहमति हुने यो अन्तिम भेटवार्ता हो । स्रोतका अनुसार शुक्रबार वा आइतबारभित्र गभर्नर सिफारिस समितिलाई तीन जनाको नाम सिफारिस गर्न लगाएर सोमबारको मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्त गर्न सक्ने सम्भावना छ । सरकारले रिक्त रहेको गभर्नर सिफारिस समितिमा बुधबार निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिसकेको छ । दुई नेताबीच अन्तिम सहमति भइसकेर नाम फिक्स भएपछि बैठक बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी अर्थमन्त्री तथा सिफारिस समितिका संयोजक विष्णु पौडेलले गरेको बुझिएको छ ।