राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब बराबर तरलता खिच्न लागेको छ । 
राष्ट्र बैंकले सूचना जारी गरी निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।

बैंकका अनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट  पैसा खिच्न लागेको हो । 

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ । 

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाइएको छ । 

यो २१ दिने निक्षेप संकलन उपकरणको जेठ ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको छ ।

Share News